भोजपुर : नेपाली कांग्रेस भोजपुरका पार्टी सचिव चक्र बहादुर कार्कीको पहलमा भोजपुर नगरपालिकाभित्रका सात वटा सामुदायिक विद्यालयहरूमा करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य विभागबाट प्राप्त सामग्री विद्यालयहरूलाई वितरण गरिएको हो।
कालिका माध्यमिक विद्यालय हेलौछा, सिंहदेवी माध्यमिक विद्यालय भामराङ, जाल्पा माध्यमिक विद्यालय भैसिपंखा, जनकल्याण निम्न माध्यमिक विद्यालय काफ्ले, बहिरा आवासीय विद्यालय भोजपुर, देविथान माध्यमिक विद्यालय आम्तेक, र विद्योदय माध्यमिक विद्यालय भोजपुरमा यी सामग्रीहरू प्रदान गरिएको सचिव कार्कीले जानकारी दिए।
स्वास्थ्य सामग्रीअन्तर्गत फोलिक एसिड १४,००० थान, जीवनजल १,४०० थान, मेट्रोनिजोल ट्याब्लेट २,८०० थान, पेन्टोप्राजोल ३,५०० थान, पारासिटामोल १४,००० थान, सेनेटरी प्याड ३५० थान, पल्स अक्सिमिटर २१ थान, र माक्स २८,००० थान वितरण गरिएको छ।
कार्कीले अब भोजपुरको उत्तरी क्षेत्र अन्तर्गत षडानन्द नगरपालिका–१० साम्पाङ र दक्षिणी क्षेत्र अन्तर्गत हतुवागढी गाउँपालिका–८ पात्लेपानी स्वास्थ्य चौकीमा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिने बताएका छन्।
यसअघि पनि कार्कीले विभिन्न सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरूमा आवश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउँदै आएका थिए। विद्यालयलाई हस्तान्तरण गरिएका सामग्रीहरूले विद्यार्थीहरूको स्वास्थ्य सुधारमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया