इलाममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु

आइतबार, ०४ फागुन २०८१
इलाम : इलाम जिल्लास्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि माई नगरपालिकाको शितली खेलमैदानमा सुरु हुँदैछ। प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका करिब ९०० खेलाडीले भलिबल, कबड्डी, एथलेटिक्स, उसु, कराँते र तेक्वान्दोजस्ता ६ विधाका खेलमा प्रतिस्पर्धा गर्नेछन्। जिल्ला खेलकुद विकास समिति इलामको आयोजनामा र माई नगरपालिकाको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा ८९५ विद्यार्थी खेलाडी, १०० प्रशिक्षक, रेफ्री र अफिसियलसहित १५०० भन्दा बढी सहभागी हुनेछन्। प्रतियोगिताको सफल सञ्चालनका लागि माई नगरपालिकाले १३ लाख रुपैयाँ सहयोग गरेको छ। माई नगरपालिकाका नगर प्रमुख खम्बासिंह लिम्बुले ग्रामिण खेलकुदको जग बलियो बनाउन प्रतियोगिता पालिकास्तरमा सञ्चालन गरिएको बताए। उनले जिल्लाका ग्रामीण क्षेत्रमा खेलकुदको विकास र प्रवर्द्धनका लागि यो प्रतियोगिता महत्त्वपूर्ण भएको बताए। जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाका अनुसार, प्रतियोगितामा सहभागी सबै खेलाडीहरू शितली मैदानमा भेला भइसकेका छन्, र उनीहरूको बसोबासको व्यवस्था माई नगरपालिकाले गरेको छ। समितिका कार्यालय प्रमुख नारायण भट्टराईका अनुसार, आगामी वर्षको प्रतियोगिता सूर्योदय नगरपालिकामा सञ्चालन गर्ने तयारीस्वरूप आजको समापनमा झण्डा हस्तान्तरण गर्ने कार्यक्रम छ। प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री राम राना मगरले गर्ने कार्यक्रम छ। तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताले जिल्लाको खेलकुद विकासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार