१२० सशस्त्र प्रहरीमाथि कारबाही

मंगलबार, ०६ फागुन २०८१
काठमाडौँ । सङ्गठनको निर्देशन विपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो बनाई अपलोड गरेको भन्दै १२० जना सशस्त्र प्रहरी कर्मचारीहरू विभागीय कारबाही गरिएको छ । उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोसाक लगाई भिडियो तथा तस्बिर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, ट्विटर ९एक्स०, इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, विच्याटलगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए । कारबाहीमा परेकाहरूमा सशस्त्र प्रहरी नायब निरीक्षक चार जना, सहायक निरीक्षक पाँच जना, वरिष्ठ हवलदार ६ जना, हवलदार तीन जना, सहायक हवलदार नौ जना, जवान ९१ र परिचर दुई जना रहेका छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाई गरिएको सशस्त्र प्रहरी प्रवक्ता डिआइजी कुमार न्यौपानेले जानकारी दिए । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले सङ्गठनबारे प्रकाशित भएका समाचारहरूमा नकारात्मक टीका–टिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरू समेत कारबाहीमा परेका छन् । सङ्गठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमन गर्नका लागि सामाजिक सञ्जाल अनुगमनसम्बन्धी शाखा स्थापना गरी अनुगमन हुँदै आएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालले सामाजिक सञ्जालमा अमर्यादित ढङ्गको तस्बिर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीहरूमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयहरूलाई निर्देशन दिइएको सशस्त्र प्रहरी प्रवक्ता डिआइजी न्यौपानेले बताए । फागुन ४ गते मातहत कार्यालयहरूमा आदेशात्मक पत्राचार गर्दै कारबाही गर्न भनिएकाहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक ६ जना, सहायक हवलदार एक जना र जवान २१ जना रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार