मोरङको बेलबारीमा ‘उपद्रष्टा हर्कमान तामाङ’को लोकार्पण

विहीबार, ०८ फागुन २०८१
विराटनगर । पूर्वसांसद हर्कमान तामाङको जीवनीमा आधारित पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’को बुधबार मोरङको बेलबारीमा लोकार्पण गरिएको छ । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ ९साविकको क्षेत्र नम्बर ४०बाट २०४८, २०५१ र २०५६ सालमा सांसद निर्वाचित भएका ८४ वर्षीय तामाङ अहिले सामान्य जीवन बिताइरहेका छन् । उनको जीवनीका बारेमा पत्रकार, साहित्यकार एवं अनुसन्धाता केशु विरहीले लेखेको पुस्तक प्रजातन्त्र दिवसको अवसर पारेर लोकार्पण गरिएको हो । विरहीले पुस्तकमार्फत तामाङलाई राजनीतिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक व्यक्तित्व भनेर थप परिचित गराएका छन् । अग्रज स्रष्टा तामाङको जीवनीलाई आधार बनाएर तयार पारिएको ‘उपद्रष्टा हर्कमान तामाङ’ नामक पुस्तक अनुसन्धानपरक (शोधमूलक) कृति रहेको विरही बताउँछन् । पुस्तकको बिक्रीबाट प्राप्त भएको कम्तीमा ५० प्रतिशत रकमले बेलबारीमा एउटा अनुसन्धान अक्षयकोष निर्माण गर्ने र यसबाट प्राप्त ब्याजबापतको रकमले अनुसन्धानका क्षेत्रमा काम गर्ने व्यक्तिलाई पुरस्कृत गरिने विरहीको भनाइ छ । अक्षयकोष बेलबारी बहुमुखी क्याम्पसमा स्थापना गरिने छ । त्यसको ब्याजबाट अनुसन्धान गर्ने कम्तीमा १ जना विद्यार्थीलाई पुरस्कृत गरिने र दोस्रो चरणमा भने राष्ट्रियस्तरका अनुसन्धातालाई पुरस्कृत गरिने उनले बताए । तामाङले राजनीतिक रूपमा सफल भएपनि पारिवारिक रूपमा भोग्नु परेका समस्यालगायतका बारेमा समेत पुस्तकमा समेटिएको विरहीले बताए । १९९७ साल साउन २५ गते भोजपुरको बोखिममा जन्मिएका तामाङको बाल्यकाल भारतको दार्जिलिङमा बित्यो । उनले पढ्दै राजनीति सुरू गरे । पछि नेपाल फर्किएर पूर्णकालीन राजनीतिमा लागे । तामाङले जीविकोपार्जनका लागि ट्युसन पढाउने गर्थे । नेपालमा खुला राजनीति प्रतिबन्ध थियो । उनले सुनसरीको धरानबाट राजनीतिक यात्रा तय गरेका थिए । बेलबारीमा कार्यक्रमका प्रमुख अतिथिले नै उक्त पुस्तक खरिद गरेर पुस्तकको लोकार्पण गरेका थिए । प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथिहरूले किताब खरिद गरेका हुन् । पठन संस्कृतिको विकास तथा लेखक, स्रष्टाप्रति सम्मान गर्ने उद्देश्यले पुस्तक खरिद गरिएको उनीहरुको भनाइ छ । विरही नेपाली साहित्यमा कथा, उपन्यास, गजल, बालकथा, अनुसन्धान तथा समालोचनाका क्षेत्रमा कलम चलाउँछन् । पछिल्लो समय भने अनुसन्धानका पुस्तक लेख्दै आएका विरहीले बेलबारीमा अनुसन्धान अक्षयकोष निर्माणको अभियान सुरु गरेका हुन् । बेलबारी साहित्य विकास समितिको आयोजना तथा बेलबारी बहुमुखी क्याम्पस र जुझारु मिडिया एन्ड रिसर्च सेन्टर बेलबारी मोरङको सहआयोजनामा भएको कार्यक्रमको उद्घाटन कोशी प्रदेशका सांसद ज्ञानेन्द्र सुवेदीले गरेका थिए । लोकार्पण कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, स्रष्टा एवं पूर्वसांसद हर्कमान तामाङ, कवि मिश्र वैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य, मेदिनीप्रसाद बराल, कवि तथा अन्वेषक अनिल पौडेल, राजनीतिकर्मी विनोद भण्डारी, डा। उद्धव पोखरेल, स्रष्टा छवि वैरागी घिमिरे, ईरान राईलगायत उपस्थित थिए । लोकार्पित कृतिमाथि डा। दीपकप्रसाद न्यौपानेले समीक्षा गरेका थिए । कार्यक्रमका सहभागीले कृतिकार विरहीले थालेको अनुसन्धान अक्षयकोष अभियानलाई शुभकामना दिएका छन् । उनीहरुले अभियानको खुलेर प्रशंसा गरेको विरही बताउँछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार