इलाम: टिप्परको ठक्करबाट घाइते भएका बुबा-छोराको उपचारका क्रममा मृत्यु भएपछि मेची राजमार्ग अन्तर्गत कन्याममा स्थानीयले सडक अवरोध गरेका छन्।
गत शुक्रबार साँझ रोङस्थित हाँसपोखरी क्षेत्रमा टिप्परको ठक्करबाट गम्भीर घाइते भएका सूर्योदय नगरपालिका-६ फाजिगाउँका ७० वर्षीय पवनकुमार राई र उनका ४० वर्षीय छोरा दीर्घ राईको उपचारका क्रममा मृत्यु भएको थियो।
बुबा-छोराको असामयिक निधनले पूरा गाउँ शोकमा डुबेको छ। मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने विषयमा सहमति नजुट्दा शव समेत उठ्न सकेको छैन, जसले परिवारलाई झन् पीडित बनाएको छ।
पटकपटक छलफल हुँदा पनि समाधान ननिस्किएपछि आक्रोशित आफन्त, छिमेकी तथा स्थानीयले सडक अवरोध गरेका हुन्। पीडित परिवारका अनुसार टिप्पर चालक तथा सम्बन्धित संघका प्रतिनिधि सम्पर्कमा समेत नआउँदा उनीहरूको आक्रोश झन् बढेको छ।
विरोधस्वरूप आइतबार एकाएक यातायात अवरुद्ध गरिएको छ। "वार्ता नटुंगिएसम्म सडक अवरोध जारी रहनेछ," स्थानीय सागर गजुरेलले बताए। अहिले कन्याम क्षेत्रमा दुवै तर्फ गाडी जाम भएका छन्, जसले यात्रुहरूलाई अन्योलमा पारेको छ।
प्रतिक्रिया