विराटनगर। कोशी प्रदेश सरकारले आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार बैठकले कोशी प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत गरेको छ।
यस कार्यविधिले कोशी प्रदेशमा आयोजना छनोट गरेर बजेटमा समावेश गर्न सहज बनाउनेछ। साथै, बाहिरी योजनाहरू अनावश्यक रूपमा समावेश गर्ने प्रवृत्तिको अन्त्य हुने मन्त्री भण्डारीले बताए।
त्यसैगरी, बैठकले सुरक्षा निकायको भवन निर्माणका लागि आवश्यक बजेट बाँडफाँड गर्ने निर्णय गरेको छ।
साथै, सामाजिक विकास संस्था ऐन २०७५ लाई संशोधन गरी प्रदेश सभामा पेश गर्ने निर्णय भएको छ। यसलाई प्रदेश सभामा प्रस्तुत गर्नु अघि मन्त्रिपरिषद्को कानुन, न्याय तथा मामिला समितिमा पठाइनेछ।
मन्त्री भण्डारीका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश स्तरमा कार्यान्वयन गरिने समपूरक र विशेष अनुदान योजनाहरू राष्ट्रिय योजना आयोगले निर्धारण गरेको विद्युतीय प्रणालीमा प्रविष्ट गरी समावेश गरिनेछ।
प्रतिक्रिया