इलाम : हिंसा पीडित महिला तथा बालिका बस्ने सुरक्षित आवास गृह नहुँदा समस्या हुँदै आएको इलाममा अब सहजता हुने भएको छ ।
लामो समयसम्म समाजसेवामा सक्रिय तथा हाल इलाम नगरपालिकामा निर्वाचित उपमेयर विष्णुमाया लिम्बु दाहालको प्रयासमा जिल्लाको न्यायिक सञ्जालले सो केन्द्रको स्थापना गरेको हो ।
बुधवार सो आवास गृहको इलाम क्षेत्र नम्बर दुई प्रदेश सांसद गोविन्द गिरीले उद्घाटन गरे । उनले सो आवास गृहको भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले आफूले आगामी वर्षको बजेटबाट भवन निर्माणमा बजेट छुट्टाउन पहल गने बताए ।
इलाम नगरपालिका ९ स्थित साबिकको पोखरी प्राविमा पोखरी दृष्टिबिहिन बालबालिका बस्दै आएको विद्यालयमा केन्द्र स्थापना भएको हो । जिल्लाको न्यायिक सञ्जालको पहलमा सो केन्द्रको स्थापना गरिएको हो ।
जिल्लामा रहेका १० वटै पालिकाका उपप्रमुख रहेको न्यायिक सञ्जालले केन्द्र स्थापनाको पहल गरेको हो । इलाम नगरपालिकाकी उपप्रमुख विष्णु लिम्बु दाहालको अध्यक्षतामा समिति नै गठन गरेर विधिवत् रूपमा काम थालिएको थियो ।
राज्य पुन संरचनामा जानु पूर्व जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालयले केही सहयोग गर्ने गरेको भए पनि स्थानीय तह गठन पछि बेवारिसे तथा हिंसा पीडित महिलाहरूलाई आश्रय दिन सकिएको थिएन ।
हिंसा पीडित महिलाहरूको सहजताका लागि हाल भगवती माध्यमिक विद्यालयको स्वामित्वमा रहेको बन्द भएको पोखरी आविमा राख्नका लागि आवश्यक काम गरिएको छ । हाल खान, बस्न र सुत्नका लागि व्यवस्था मिलाइएको छ ।
आवास केन्द्र सञ्चालनका लागि इलाम नगरपालिका सहित देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिकाका उपप्रमुखहरू र उजुरी प्रशासक समितिमा रहेको बताइएको छ ।
त्यस्तै रेडक्रस र मानवअधिकार मञ्च समेत सञ्चालक समितिमा रहेको बताइएको छ । जिल्लामा पुरस्थापना केन्द्र नहुँदा कहिले उदयपुर त काठमाडौँ पठाउनु पर्ने बाध्यता रहँदै आएको थियो ।
https://pradeskhabar.com/archives/92067
प्रतिक्रिया