एक वर्षमा सक्ने सम्झौता गरिएको लेदुवा खोलाको पुल ४ वर्षदेखि अलपत्र, मन्त्री राईद्वारा अनुगमन

विहीबार, १४ चैत्र २०८१
धरान : धरान उपमहानगरपालिका–५, देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा निर्माणाधीन पुल चार वर्षदेखि अलपत्र परेपछि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईको टोलीले स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीमा मन्त्री राईसँगै मन्त्रालयका सचिव अशोक कुमार साह, प्रदेश सांसद रमेश कुमार बस्नेत, धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बु लगायत सहभागी थिए। धरान–५ मा बन्दै गरेको १६ मिटर लामो पुलले वडा नम्बर ४ र ५ का बासिन्दालाई जोड्नेछ। पुल नबन्दा स्थानीयलाई स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा कठिनाइ परिरहेको वडाध्यक्ष लिम्बुले बताए। धरानको पूर्वी भेगका यी वडाहरू दुर्गम मानिन्छन्, जहाँ १५ हजार ८०० जनसंख्या र ३ हजार ५०० घरधुरी छन्। बर्खायाममा खोला वारपार गर्न जोखिम उठाउनुपर्ने बाध्यताले स्थानीयले पुल निर्माणमा ठूलो आशा राखेका थिए। पुल निर्माणका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७७ साउन १३ गते वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीसँग एक वर्षमा सम्पन्न गर्ने गरी १ करोड २१ लाख ८६ हजार ८१३ रुपैयाँको सम्झौता गरेको थियो। हालसम्म कम्पनीले ८९ लाख ५० हजार १७३ रुपैयाँ भुक्तानी लिइसकेको छ, तर पुल अझै अपूरो छ। निर्माण कम्पनीलाई दुईपटक म्याद थप गरिए पनि (पहिलो पटक २०८० असार ३० र दोस्रो पटक २०८१ असार ३०) काम अघि नबढेपछि मन्त्री राईले अनुगमन गरेका हुन्। अनुगमनपछि ठेकेदार पशुपति बरालले चैत २६ गतेबाट काम सुरू गरी २०८२ जेठ मसान्तभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। लेदुवा खोलाका कारण धरान–५ को जरेआहाल, मुक्तिला, निशानडाँडाका कृषकहरूले उत्पादन गरेका तरकारी, दूध जस्ता सामग्री बजार पुर्‍याउन नसकेको स्थानीय राजकुमार राईले बताए। विद्यालय जाने विद्यार्थीदेखि बिरामी अस्पताल लैजानसमेत खोला तार्नुपर्ने जोखिमपूर्ण अवस्था रहेको नरबहादुर मगरले बताए। बाढी आउँदा दिनौँसम्म घरमै बन्दीझैँ बस्नुपर्ने अवस्था रहेको उनले गुनासो गरे। मन्त्री राईले प्रदेशभरका अलपत्र ठूला आयोजनाहरू सुचारु गर्ने पहलस्वरूप अनुगमन गरेको बताए। निर्माण व्यवसायीको लापरबाहीले भौतिक पूर्वाधारका काम समयमा पूरा नहुने प्रवृत्ति रोक्न कानुनी कारबाही गर्ने चेतावनी उनले दिए। गत मंसिरमा उनले धरान–४ को पत्रङबारी–हर्दिया हुँदै धनकुटा र मोरङ जोड्ने सडकको अनुगमन गरेका थिए, जसपछि उक्त सडक निर्माण अघि बढेको थियो।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार