काठमाडौँ । ‘इन्टरनेसनल कोडिङ कम्पिटिसन २०२४’ मा नेपाली विद्यार्थीले ऐतिहासिक सफलता हासिल गरेका छन्।
दुरशिक्षा एजुकेसन नेटवर्कको आयोजना तथा डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेक इन्डियाको सहकार्यमा सम्पन्न प्रतियोगितामा नेपालसहित भारत, हङकङ, मिडल इस्ट, यूके, अमेरिका र अस्ट्रेलियाका विद्यार्थीहरूबिच प्रतिस्पर्धा भएको थियो।
नेपालबाट ९ जना विद्यार्थी ग्लोबल प्रतिस्पर्धाका लागि छनोट भएका थिए। जुनियर ब्लक-आधारित कोडिङमा एक्सेल्सियर स्कुलका कक्षा ४ का विनायक पंगेनीले दोस्रो स्थान प्राप्त गरे भने सिनियर ब्लक-आधारित कोडिङमा मेरिडियन इन्टरनेसनल स्कुलका कक्षा ५ का श्रेयश खड्गीले दोस्रो स्थान हासिल गरे। पाइथन कोडिङ विधामा हाई न्यू भिजन एकेडेमीका कक्षा ८ का कृष्ण रिजालले पहिलो स्थान हासिल गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाए।
विजयी विद्यार्थीहरूलाई सम्मान गर्न दूरशिक्षाले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ, जसमा अभिभावक, विद्यालयका प्रधानाध्यापक र विशेष अतिथिहरूलाई निमन्त्रणा गरिनेछ। प्रतियोगिता नेपालमा अनलाइन तथा भौतिक रूपमा सञ्चालन गरिएको थियो, जसमा ४०० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए। अन्तिम चरणका लागि ८० जना छनोट भएका थिए, जसमध्ये ९ जना विद्यार्थीले ग्लोबल प्रतिस्पर्धामा स्थान बनाएका थिए।
प्रतियोगितामा कक्षा २ देखि ४ सम्मका विद्यार्थीले जुनियर ब्लक-आधारित कोडिङ, कक्षा ५ का विद्यार्थीले सिनियर ब्लक(आधारित कोडिङ तथा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले पाइथन कोडिङमा विभिन्न थिममा प्रतिस्पर्धा गरेका थिए।
नेपालका विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनलाई प्रशंसा गर्दै क्यान महासंघ नेपालकी अध्यक्ष सुनैना पाण्डेले उनीहरूलाई प्रेरणा दिइन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञ डा। शालिग्राम पराजुलीले प्रविधि क्षेत्रमा नवीनतम खोज तथा अनुसन्धानका लागि विद्यालय स्तरमै यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
आईसीटी फ्रेम म्यागजिनकी अध्यक्ष मीना अर्यालले कोडिङ प्रतियोगिताले प्रविधि नेतृत्वकर्ता निर्माण गर्न योगदान दिने बताइन्। डिजिटल युगमा नेपालका विद्यार्थीहरूलाई प्रविधिमा अग्रसर गराउने यस्ता प्रतियोगिता महत्त्वपूर्ण हुने उनले उल्लेख गरिन्।
प्रतिक्रिया