रौतहट । रौतहटको गरुडा नगरपालिकाको चोकमा रहेको तरकारी बजारमा शुक्रवार बिहान आगलागी भएको छ । आगलागीबाट करिब तिन वटा भन्दा बढी फुसको घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय कमल जयसवालले सञ्चालन गरेको होटेलमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । प्रहरीका अनुसार आगलागीले घरमा राखिएको दुई वटा ग्यास सिलिन्डर विस्फोट भएको छ ।
ग्यास सिलिन्डर विस्फोट भएपछि आगो नियन्त्रणमा बाहिर गए पनि कुनै प्रकारको मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार राय बताए ।
उनका अनुसार आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ इलाका प्रहरी कार्यालय गरुडाको टोली घटनास्थल पुगेको थियो । सुरक्षाकर्मी , स्थानीयवासी र गौरबाट आएको वरुण यन्त्र (दमकल) सहयोगमा आगो नियन्त्रणमा आएको उनले जानकारी दिए ।
आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको उनले बताए । कति वटा फुसको घर जलेर नष्ट भएको बारे आधिकारिक जानकारी प्राप्त नभए पनि तीन वटा भन्दा बढी नै जलेको डिएसपी रायले बताए । आगलागीबारे भएका क्षतिका विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया