इलाममा चियाको पहिलो टिपाई सुरु

शुक्रबार, १५ चैत्र २०८१
इलाम : इलाममा चियाको पहिलो टिपाई सुरु भएको छ। चियाको राजधानी मानिने यस जिल्लाको तल्लो क्षेत्रमा सिजनको पहिलो हरियो चिया पत्ती टिप्न थालिएको छ, भने माथिल्लो क्षेत्रमा भने अझै चिया पलाइसकेको छैन। कात्तिक महिनादेखि रोकिएको चिया उत्पादन चैत्र लागेसँगै पुनः सुरु भएको हो। किसान दीपक खतिवडाका अनुसार, मुना पलाएपछि चिया टिप्ने क्रम अघि बढेको हो। चिया टिपाई सुरु भएसँगै किसान, चिया उद्योगी, र श्रमिकहरू व्यस्त बन्न थालेका छन्। पहिलो टिपाइलाई 'फस्ट प्लग' भन्ने गरिन्छ, जुन उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ। यसबाट किसानहरूले हरियो पत्तीको राम्रो मूल्य प्राप्त गर्ने गरेका छन्। चैत्र महिनामा उत्पादन हुने चियामा पानीको मात्रा कम हुने भएकाले गुणस्तरीय मानिन्छ। जिल्लाको तल्लो क्षेत्रका माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाका विभिन्न स्थानहरूमा चिया टिपाई सुरु भइसकेको छ। तर, माथिल्लो क्षेत्र तथा इलाम बजार क्षेत्रमा भने भर्खरै मात्र चिया पलाउन थालेको छ। सन्दकपुर गाउँपालिकाको सुलुबुङ र माइजोगमाई गाउँपालिकाका उच्च पहाडी क्षेत्रमा भने चियाको मुना बस्न मात्रै सुरु भएकाले टिपाई हुन अझै केही समय लाग्ने देखिन्छ। सुरुवाती चरणको टिपाई भएकाले उत्पादन हुने चिया उत्कृष्ट गुणस्तरको हुने र यसको मूल्य समेत दोब्बर पुग्न सक्ने किसानहरू बताउँछन्। चिया उत्पादन सुरु भएसँगै चिया कारखानाहरूले प्रशोधन कार्य थालेका छन् भने केहीले तयारी गरिरहेका छन्। तल्लो क्षेत्रका किसानहरू चिया टिप्न व्यस्त भएका छन्। अधिकांशले पहिलो टिपाइको चिया घरमै उपभोगका लागि राख्ने चलन छ, भने बढी उत्पादन भएमा मात्र बिक्री गरिन्छ। इलाम तथा पूर्वी नेपालमा हाल ११ हजार ५६९ हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ। १४ हजार ८९८ साना किसान यस व्यवसायमा संलग्न छन्। वार्षिक रूपमा १ करोड ८२ लाख केजी सिटिली र ४९ लाख केजी अर्थोडक्स चिया उत्पादन हुँदै आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार