काठमाडौं : नबिल बैंकले मास्टरकार्ड नेटवर्कमा आधारित नयाँ डेबिट कार्ड सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित विशेष समारोहमार्फत बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानी सेवा अझ सुदृढ बनाउने उद्देश्यसहित कार्ड विमोचन गरेको हो। कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा नयाँ कार्ड बाजारमा ल्याइएको बैंकले जनाएको छ।
समारोहमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नयाँ डेबिट कार्डलाई बैंकको सेवा–नवीनताप्रति प्रतिवद्धताको निरन्तरता भएको बताए। “नबिल बैंकले सुरुवातदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा प्रदान गर्दै आएको छ। यही यात्रामा हामीले यो कार्ड ग्राहकका लागि थप सुविधा बनाउँदै प्रस्तुत गरेका छौँ,” उनले भने।
मास्टरकार्ड दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले नबिल बैंकसँगको सहकार्यलाई अझ बलियो बनाउँदै सुरक्षित र सहज भुक्तानी सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ कार्ड ल्याइएको बताए। उनका अनुसार मास्टरकार्डले विश्वभर प्रयोग हुँदै आएको अत्याधुनिक सुरक्षा र पेमेंट प्रणाली अब नेपाली ग्राहकले पनि सहजै उपयोग गर्न सक्नेछन्।
नयाँ डेबिट कार्ड मास्टरकार्डको अन्तर्राष्ट्रिय सञ्जालमा आधारित रहने छ, जसले ग्राहकलाई विश्वव्यापी भुक्तानी सुविधा, सुरक्षित कारोबार र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने बैंकले जनाएको छ। कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ, जसमा नेपालको राष्ट्रिय गौरवको प्रतीक मानिने राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ।
कार्डमार्फत विभिन्न रेस्टुरेन्ट, स्पा, फिटनेस सेन्टर तथा मनोरञ्जन सेवामा प्रिमियम छुट तथा विशेष सुविधा प्राप्त गर्न सकिने बैंकको भनाइ छ।
नबिल बैंक मास्टरकार्डको एक प्रमुख सदस्य संस्था हो। नेपालमा मास्टरकार्ड क्रेडिट कार्ड जारी गर्ने पहिलो बैंकका रूपमा नबिलले नेपाली रुपैयाँ तथा अमेरिकी डलरमा कारोबार योग्य कार्ड उपलब्ध गराउँदै आएको छ। नयाँ डेबिट कार्डका लागि इच्छुक ग्राहकले बैंकका शाखाहरू वा एनबैंक एपमार्फत आवेदन दिन सक्नेछन्।
२५ लाखभन्दा बढी ग्राहकसहित नबिल बैंकले देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा विस्तार गर्दै आएको छ। चार दशकदेखि नबिल बैंकले आधुनिक प्रविधि–आधारित बैंकिङ सेवा स्थापना र विस्तारमा अग्रणी भूमिका खेल्दै आएको छ।
प्रतिक्रिया