भैरहवा : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदै छ । दुवै टोलीका कप्तानले आफूहरू फाइनलका लागि सम्पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
शुक्रबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कपअन्तर्गत सम्पूर्ण खेलहरू पहिलो पटक उपत्यका बाहिर खेल्न पाउनु अभूतपूर्व रहेको टिप्पणी गरे । उपत्यका बाहिर पहिलो पटक खेलिने फाइनल खेलका लागि तयार रहेको भन्दै भोलि सौहार्दपूर्ण वातावरणमा खेल सकिने उनले बताए ।
भण्डारीले मुलुकभित्र क्रिकेट खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता देशभरि आयोजना गर्नुपर्ने बताए । उपत्यका बाहिर पनि स्तरीय खेल मैदानहरू निर्माण भइसहेकाले अब काठमाडौँमा केन्द्रित हुन आवश्यक नभएको कप्तान द्वयको भनाइ छ ।
सबै स्थानमा खेल मैदान भएकाले यसले क्रिकेटको विकासमा टेवा पु¥याउने भन्दै उपत्यका बाहिर यो वर्षदेखि खेल खेलाएर क्रिकेटमा विकेन्द्रीकरणको सुरुवात भएको नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले बताए । प्रधानमन्त्री कप क्रिकेटमा राष्ट्रिय टोलीका खेलाडीभन्दा प्रदेशस्तरीय खेलाडीले उल्लेख्य प्रदर्शन गरेका छन् ।
कप्तान द्वयले विभागीय खेलाडीको प्रदर्शनभन्दा कसरी उदीयमान खेलाडीको प्रदर्शन उच्च भएको बताउँदै प्रधानमन्त्री कपको उद्देश्य लुकेका प्रतिभालाई सबैको सामु ल्याउनु रहेको उल्लेख गरे । जारी प्रतियोगितामा नौ खेल खेलेको नेपाल पुलिस आठमा जितसहित प्रतियोगिताको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो भने नौ खेल खेलेको आर्मी पनि आठमा जित निकाल्दै दोस्रो स्थानसहित फाइनल पुगेको छ ।
लिग चरणको अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई चार विकेटले हराएको थियो । विसं २०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुई पटक उपाधि जितेको छ । आर्मीले एक पटक मात्रै उपाधि हात पारेको छ । गत वर्षको फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो ।
आर्मी यस पटक जित निकाल्ने योजनामा छ भने राम्रो गतिमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने योजनामा छ । फाइनलमा पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ । पहिलो पटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशमा भएका हुन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल भएका छन् । कूल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधिका लागि भोलि प्रतिस्पर्धा हुँदै छ ।
गत फागुन २५ देखि सुरु खेल भोलि समापन हुनेछ । उपाधि रक्षाका लागि दुवै टिमले आन्तरिक रणनीति बनाएका छन् । शनिबार बिहान भैरहवास्थित सिद्धार्थ रङ्गशालामा बिहान ९ बजेदेखि फाइनल खेल हुँदै छ ।
प्रतिक्रिया