सुनसरी : बाल अधिकार संरक्षण तथा अनलाइन बाल यौन दुव्र्यवहार रोकथामका उपायबारे सचेतना फैलाउने उद्देश्यले सुनसरीमा एक दिने कार्यशाला सम्पन्न भएको छ ।
भ्वाइस अफ चिल्ड्रेन को आयोजनामा भएको कार्यशालामा बालबालिकामाथि हुने अनलाइनबाट हुने यौनजन्य अपराधहरूबारे विस्तृत छलफल गरिएको थियो ।
बालबालिकामाथि हुने अनलाइन दुव्र्यवहारको प्रकृति जटिल बन्दै गएकोले यसलाई नियन्त्रण गर्न कडा कानुनी प्रावधानका साथै सचेतना अभियान आवश्यक रहेको सुनसरी जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायले बताए ।
उनले नेपालको मौजुदा कानुनी व्यवस्था तथा बाल अधिकारसम्बन्धी राष्ट्रिय कानुनी दायित्वहरूबारे जानकारी गराउँदै बालबालिकाको सुरक्षाका लागि अझ कडा नीति आवश्यक रहेको उल्लेख गरेका छन् ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले अनलाइन माध्यमबाट बालबालिकामाथि हुने यौन दुव्र्यवहारका विभिन्न स्वरूपहरूबारे जानकारी गराएका थिए ।
उनले ग्रामीण तथा सहरी क्षेत्रमा डिजिटल पहुँच बढेसँगै साइबर अपराधहरू समेत बढिरहेको तथ्याङ्क प्रस्तुत गर्दै प्रहरीले प्रविधिमा आधारित अपराध अनुसन्धानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अनलाइनका माध्यमबाट बालबालिकामाथि हुने साइबर अपराध, यौनजन्य दुव्र्यवहार तथा जबर्जस्तीकरणका घटनाहरू बढ्दै गएकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । कार्यक्रमका दौरान बाल अधिकार हनन रोक्न न्यायिक संयन्त्र, सरकारी वकिल, कानुन व्यवसायी, र सुरक्षाकर्मीबिच समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।
साथै, बालबालिकालाई इन्टरनेट सुरक्षित तरिकाले प्रयोग गर्न सिकाउने, अभिभावकहरूलाई सचेत गराउने, तथा विद्यालय स्तरमै डिजिटल सुरक्षाबारे शिक्षा दिनुपर्ने सुझावहरू आएका थिए ।
कार्यक्रममा सहभागी कानुन व्यवसायीहरूले बाल अधिकार संरक्षणका लागि प्रभावकारी कानुनी व्यवस्था निर्माणका लागि आफ्ना सुझावहरू राख्ने अवसर पाएका छन् ।
भ्वाइस अफ चिल्ड्रेनले आगामी दिनहरूमा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै बालबालिकाको सुरक्षासम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने भ्वाइस अफ चिल्ड्रेन कार्यक्रम संयोजक गोविन्द कोइरालाले बताएका छन् ।
भ्वाइस अफ चिल्ड्रेन कोशी प्रदेश प्रमुख भरत थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला न्यायधीस प्रकाश राउत, सुनसरी जिल्ला अदालतका श्रेतेदार टिकेन्द्रवीर जङ्ग राणा, जिल्ला न्यायाधिवत्ता टेकनाथ अधिकारी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया