धरान । धरान–१४ स्थित विजयपुर डाँडामा रहेको पिण्डेश्वर बाबाधाम मन्दिरमा रथोत्सवको कार्यक्रम सुरु भएको छ।
कोशी प्रदेशका प्रसिद्ध रुद्राक्षारण्यमा स्थित पिण्डेश्वर बाबाधाम मन्दिरको महात्म्यमा रथोत्सवको उल्लेख भएको कारण यस वर्षदेखि रथोत्सवको आयोजना गरिएको मन्दिर समितिका अध्यक्ष विकासकुमार बनेपालीले जानकारी दिए।
इतिहासअनुसार, यो स्थान पहिले रुद्राक्षको जंगल थियो र देवताले अमृतको अंशबाट पिण्डको आकारमा शिवजीको स्थापना गरेका छन्। रुद्राक्षारण्य महात्म्य अनुसार, देवता र दानवहरूले मिलेर समुद्र मन्थनबाट उत्पन्न अमृतको सारलाई यहाँ स्थापना गरेका छन्। भगवान श्री पिण्डेश्वरलाई रुद्राक्षका देवता पनि भनिन्छ।
रुद्राक्षारण्य महात्म्यमा भगवान विष्णुले १५ दिनसम्म पिण्डेश्वरको पूजा अर्चना गरेर रथोत्सव मनाएको उल्लेख छ। चैत शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पिण्डेश्वर महादेवको पूजा गरेर रथोत्सव गर्ने परम्परा रहेको महात्म्यमा उल्लेख छ। पूर्णिमाको दिन रथोत्सव समापन गरी भगवान श्रीहरी वैकुण्ठ प्रस्थान गर्नु भएको विश्वास छ ।
जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यका अनुसार, यस्तो उत्सव पहिले हुनु पर्ने थियो, र अहिले यसको आयोजना हुनु खुशीको कुरा हो। यस्ता धार्मिक क्रियाकलापहरूले तीर्थस्थलहरूको महत्व बढाउँछन् र मठमन्दिरहरूको धार्मिक गतिविधिमा योगदान पुर्याउँने उनको विश्वास छ ।
रथोत्सवको आयोजनाले कोशी प्रदेशको पर्यटन वर्षलाई पनि सहयोग पुर्याउने विश्वास कोशी पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले व्यक्त गरे।
रथोत्सवमा रुद्री पाठ, विशेष पूजा अर्चना र साँझमा भजन किर्तन हुनेछ। साथै, चैत्र २२ गते दन्तकाली मन्दिर, २३ गते बुढासुब्बा र पञ्चकन्या मन्दिरको परिक्रमा गर्ने र चैत्र ३० गते धरान बजार रथयात्रा गरी शिवजट्टामा पुगेर समापन गर्ने कार्यक्रम तय गरिएको पिण्डेश्वर बाबाधाम समितिले जानकारी दिएको छ।
प्रतिक्रिया