–विराटनगर महानगरद्वारा आइतबार आयोजित पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा सहभागी हुँदै उपमेयर शिल्पा निराला कार्की ।
विराटनगर । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
महानगर स्वास्थ्य महाशाखाका अनुसार आइतबार एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबारबाट शरीर दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएपछि आइतबार परीक्षण गराइएको थियोृ परीक्षणको रिपोर्ट ‘पोजिटिभ’ आएको उपमेयर कार्कीको सचिवालयले जनाएको छ ।
संक्रमण पुष्टि भएपछि कार्की निवासमै स्वास्थ्य लाभ गरिरहेकी छन् । आइतबार महानगरमा आयोजित पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा कार्की सहभागी भएकी थिइन् ।
कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री निर्मला लिम्बू, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिवद्धय डा. रोशन पोखरेल, निमित्त सचिव डा. टंक बाह्रकोटी, महानगरका मेयर नागेश कोइराला, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीलगायत सहभागी थिए ।
कार्यक्रम समापनपछि उपमेयर कार्कीले एन्टिजेन परीक्षण गराएकी थिइन् ।
त्यसअघि पनि उनी विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त रहेको महानगरले जनाएको छ ।
महानगर स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले कार्यक्रममा सहभागीहरुले ५ देखि ७ दिनभित्र कुनै लक्षण देखिए परीक्षण गराउनुपर्ने बताए ।
उपमेयर कार्की केही दिनअघि काठमाडौंबाट विराटनगर फर्किएकी हुन् । आफूमा संक्रमणको शंका हुँदाहुँदै विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी बनेको भन्दै उपमेयर कार्कीको आलोचना भएको छ ।
महानगरले कोरोना संक्रमणको पहिचान गर्न विराटनगरको रानीमा ‘हेल्प डेस्क’ सञ्चालन गर्दै आएको छ । ‘हेल्प डेस्क’मा दैनिक करिब १ सय जनाको कोरोना परीक्षण हुने गरेको महाशाखा प्रमुख अलीले बताए ।
हाल महानगरले संक्रमितलाई उपचारका लागि वडा नम्बर ५, १५ र १९ मा राख्ने व्यवस्था मिलाएको अलीको भनाइ छ ।
Discussion about this post