काठमाडौँ । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
पौडेलको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार चलिरहेको छ।
छातीमा संक्रमण भएपछि पौडेललाई बुधबार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत् भारत लगेर उपचार थालिएको हो।
पौडेलको स्वाथ्य अवस्था र अस्पतालको प्रोटोकल अनुसार आइसीयूमा राखेर उपचार गराइएको पौडेलसँगै रहेका उनका निजी चिकित्सक डा. निरज बमलाई उद्धृत गर्दै राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले देश सञ्चारलाई जानकारी दिए।
पौडेललाई दुई दिन आइसीयूमै राखेर परीक्षण गर्ने अस्पतालले जनाएको छ।
प्रेस संयोजक कार्कीका अनुसार उपचारमा हाल एम्स अस्पतालका पल्मोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा अनन्त मोहन र आइसीयू विज्ञ डा.पुनीत मिश्रको टोली संलग्न छ।
नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरू र चिकित्सकहरूले दिएको सल्लाहअनुसार थप उपचारका लागि पौडेललाई बुधबार भारत लगिएको हो।
राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. बम, परिवारका सदस्य र अन्य ७ जना चिकित्सकको टोली छ।
डाइबेटिज र ग्यास्ट्रोसम्बन्धी समस्या तथा छातीमा संक्रमण भएपछि उनलाई मंगलबार उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।
Discussion about this post