काठमाडौं । यमनको राजधानी सनामा रमजानको अवसरमा आयोजित एक कार्यक्रममा भागदौड मच्चिँदा ७८ जनाको मृत्यु भएको छ ।
उक्त घटनामा थुप्रै मानिस घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । मुस्लिम समुदायको धार्मिक महिना रमजानको अवसरमा व्यापारी वर्गले वितरण गर्ने भनिएको धर्मार्थ दान लिन सयौँ मानिस एउटा विद्यालयमा भेला भएका बेला भागदौड मच्चिएको हो ।
घटनापछि उक्त दान कार्यक्रम आयोजनाका जिम्मवार व्यक्तिहरुलाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको त्यहाँ आन्तरिक मामिला मन्त्रीले जानकारी दिएका छन् ।
भिडलाई नियन्त्रणमा लिन सशस्त्र विद्रोही समूह हुथीले हवाई फायर गरेको र त्यसक्रममा बिजुलीको तारमा गोली लागेर विस्फोट हुँदा भागदौड मच्चिएको एपीले जनाएको छ । सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई अपदस्थ गरेयता राजधानी सना हुथी विद्रोहीको नियन्त्रणमा छ । उक्त घटनाको एक वर्षपछि नै साउदी नेतृत्वको क्षेत्रीय गठबन्धन सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण सुरु गरेको हो ।
यमन द्वन्द्वमा अहिलेसम्म लडाकु र सर्वासाधारण गरी एक लाख पचास हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । यसबाट विश्वकै सर्वाधिक खराब मानवीय विपत्तिको अवस्था सिर्जना भएको छ । । देशको दुई तिहाइ जनसंख्या अर्थात दुई करोड १० लाखभन्दा बढी मानिसलाई मानवीय सहयोग र संरक्षणको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ ।
Discussion about this post