विराटनगर । पहिचान पक्षधर र सुरक्षाकर्मीबीच विराटनगरमा शनिबार भएको झडपमा परी दुवैतर्फका गरी १० जना घाइते भएका छन् ।
झडपमा ६ जना सुरक्षाकर्मी र ४ जना आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीले ढुंगामुढा गर्दा प्रहरीको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुको आर्या न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनकारीमध्ये १ जनाको आर्या न्यूरो र ३ जनाको पारस अस्पतालमा उपचार भइरहेको छ ।
झडपका क्रममा सुरक्षाकर्मीका तर्फबाट ८२ सेल अश्रुग्यास प्रहार भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार नेपाल प्रहरीले ८१ सेल अश्रुग्यास प्रहार गरेको हो । सशस्त्र प्रहरीले १ सेल प्रहार गरेको थियो ।
‘झडपका क्रममा आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर बाँस, भाटा, लाट्ठी, फलामका रड र बियरको बोतल प्रहार गरेको प्रहरीको दाबी छ ।
आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर सुरुमा पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीले सुरक्षा अवरोध छिचोल्न खोज्दा सिधै पेट्रोल बम प्रहार गरेपनि बेलैमा सतर्कता अपनाइएका कारण आगो लागेर कुनै क्षति हुन नपाएको दाहालले बताए ।
पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने र प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलित छन् ।
पहिचानवादीहरु आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’को शव श्रद्धाञ्जलीका लागि भनेर प्रदेश राजधानी विराटनगर लिएर आएका थिए ।
शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि रोडशेष चोकमा राख्ने भनिएको थियो ।
लाजेहाङ’को शवयात्राका क्रममा निषेधित क्षेत्र तोडेर शवयात्राका सहभागी अघि बढ्न खोजेपछि रोक्ने क्रममा सुरक्षाकर्मीसँग झडप भएको हो ।
शवयात्रालाई लक्षित गर्दै रोडशेष चोकबाट लगभग २ सय मिटर दक्षिणमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर सुरक्षाकर्मीले आवतजावतमा रोक लगाएका थिए ।
निषेधित क्षेत्र तोड्दै शवयात्रालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनजिकतर्फ लैजान खोजिएपछि सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको हो ।
Discussion about this post