धरान । धरानको पिण्ठेश्वर मन्दिरसँगै रहेको पोखरीका माछा सप्तकोशी लगेर छाडिने भएको छ ।
पोखरीमा माछा धेरै भएको र सुख्खा यामसँगै पानी घटेकोले माछाहरु मर्ने अवस्था आएकोले पोखरीका माछा सप्तकोशी लगिने भएको हो ।
पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार बनेपालीले पोखरीमा माछाको संख्या धेरै भएको र माछा ठूला–ठूला भएकोले निकालेर अन्यत्र सार्नुपर्ने अवस्था आएको बताए ।
उनले भने ‘भक्तजनहरुले एउटा आस्था र विश्वासले चढाएको माछा विक्री गर्न हुँदैन, त्यसैले एउटा तिर्थस्थलको माछा अर्को तिर्थस्थलमा सार्न लागिएको हो ।’
सुख्खायामा लागेसँगै पोखरीमा पानी धेरै घटेको छ । १४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको पहलमा धरान उपमहानगरपालिकाको दमकलले पोखरीमा पानी समेत लगाइदिएको थियो भने बाबाधाम समितिले ट्याङ्करको पानी किनेर पनि पोखरीमा लगाएको थियो ।
पोखरीमा पानी थप्दा समेत माछा अटाउने स्थिति नभएपछि झिकेर सार्ने निर्णय भएको अध्यक्ष बनेपालीले बताए ।
Discussion about this post