धरान । धरान उपमहानगरपालिकामा एकहप्तादेखि खानेपानीको चरम अभाव भएको छ ।
चैत दोस्रो हप्तादेखि सुरु भएको खानेपानी अभाव अझ चर्किएको छ ।
धरानका वडाहरु ७, ९, १०, १५ र १७ मा खानेपानीको चरम अभाव छ ।
धरानका मेयर हर्कराज राईले श्रमदानको अभियान चलाएर संकलन गरेको पानी सुख्खायाम लागेसँगै सुकेका छन् ।
धरान–१३ बीपी पार्क नजिकै बनाएको २ लाख ३७ हजार लिटर क्षमताको ट्याङ्की २४ घण्टामा पनि भरिँदैन ।
ट्याङ्कीको रेखदेख गर्ने हेरालुका अनुसार २४ घण्टामा ट्याङ्की भरिन गाह्रो पर्छ ।
धरान–७ का वडाध्यक्ष जीवन सुवेदीका अनुसार ७ नम्ब। वडाको बुद्धमार्ग, शान्तिपथ, श्रीजंगा लाइन, शुक्रपथ लगायतका क्षेत्रमा १० दिनदेखि खानेपानी छैन ।
स्थानीयले जार तथा ट्याङ्करबाट खानेपानी किनेर प्रयोग गरिरहेका छन् ।
खानेपानी अभावबारे उपभोक्ताले अनेक माध्यमबाट गुनासो गरिरहेका छन् । कतिपयले सामाजिक सञ्जालमा आफूहरुले भोग्नुपरेको समस्या सार्वजनिक गरेका छन् ।
स्थानीय प्रविन राई फेसबुकमा लेख्छन् ‘मेयरलाई सामाजिक सञ्जालमा वाह–वाही थामी नसक्नु छ यता जनता भने खानेपानी नपाएर काकाकुल भइसके ।’
धरान–१४ का ज्ञानेन्द्र श्रेष्ठका अनुसार ५२ सालदेखि धरान बसाइको क्रममा पहिलो पटक घरको चारवटै ट्याङ्की रित्तिएको छ ।
धरान–१६ का रोशन दाहालले हप्ता दिनदेखि धारामा खानेपानी नआएको गुनासो गरेका छन् । उनले ट्याङ्करबाट पानी किन्न पनि नपाएको बताएका छन् ।
पानी ल्याइदिन सम्पर्क गर्दा प्रायजसो ट्याङ्कर व्यस्त भएकोले भोलि वा पर्सि भन्दै भाका राख्ने गरेको बताए ।
धरान–१५का जीवन लिम्बूले भने ११ दिनदेखि धारामा पानी नआएको बताए । उनले गत सालभन्दा यसबेला खानेपानी अभाव भएको बताए । अहिले पिउन र खाना बनाउन पनि पानी किन्नु परेको लिम्बूले बताए ।
धरान–९ स्थित होटल सन्ध्या इनका सञ्चालक रविन अधिकारीले दैनिक ७ हजार लिटर पानी ट्याङ्करबाट किनिरहेको बताए ।
उनले मासिक रुपमा ट्याङ्करलाई मात्रै १ लाखदेखि डेढ लाखसम्म भुक्तानी दिएको बताएका छन् ।
कात्तिकदेखि नै खानेपानी ट्याङ्करबाट किन्न थालेको बताउदै अधिकारीले चैतदेखि दैनिक पानी किन्नुपरेको बताए ।
अधिकारीको जस्तै अवस्था धरानका होटल सञ्चालकहरुको छ । धरान–१७ को त्रिवेणी मार्ग, तल्लो उदय, माथिल्लो उदय, एन्फा मार्ग, रेल्वेचोकदेखि पश्चिमको क्षेत्रमा १० दिनदेखि खानेपानी नआएको गुनासो स्थानीयले गरिरहेका छन् ।
सामाजिक सञ्जालमा खानेपानीको अभाव भएको स्टाटस धेरै देखिन थालेको छ भने ट्याङकरबाट खानेपानी किनेको फोटो भिडियो तथा नुहाउन र लुगाधुन धरान आसपासका क्षेत्रका खोला तथा कुवाहरुमा पुगेको फोटो भिडियोहरु सामाजिक सञ्जालमा प्रशस्त देखिन थालेको छ ।
धरान–७ शान्तिपथका स्थानीयले खानेपानी नभएको कारण तीनदिनदेखि होटलमा खाना खान बाध्य भएको बताएका छन् ।
धरान–७ का नरेश शाक्यले १० दिनदेखि धारामा पानी नआएकोले खान समेत होटलमा गएर खाएको बताए ।
एक घण्टा लगाएर डोकोमा खानेपानी बोक्नुपर्ने बाध्यता
धरान–१४ का स्थानीयले डोकोमा १ घण्टा लगाएर खानेपानी बोक्नु परिरहेको छ ।
धरान–१४ स्थित पिण्डेश्वर मन्दिर आसपासका क्षेत्रका बासिन्दाले खत्रीधाराबाट खानेपानी बोकेर खाइरहेका छन् ।
स्थानीय पवित्रा सुब्बा दैनिक डोकोमा पानी बोकेर खान थालेको तीन महिना भएको बताउँछिन् ।
Discussion about this post