धरान । वैशाख १८ गते धरानमा मजदुरहरूले प्रदर्शन गर्ने भएको छ । १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरहरूको प्रदर्शन गर्ने तयारी गरेको हो ।
धरानमा रहेका जिफन्ट सम्बद्ध युनियनका अध्यक्षहरूको भेलाले श्रमिकहरूको अधिकार क्रमशः कटौती हुँदै गइरहेको र राज्य पुँजी पक्षीय बन्दै गइरहेकाले त्यसको खबरदारीका लागि श्रमिक दिवसको अवसरमा प्रदर्शन गर्ने तयारीका साथ मजदुर नेता भीमज्वाला राईको संयोजकत्वमा १३९ सदस्सीय श्रमिक दिवस समारोह मूल समिति निर्माण गरेको छ । समितिमा रंगलाल गिरी र यामकला मग्राती सह संयोजक रहेका छन् ।
सचिवमा मुक्तिनाथ गिरी रहेका छन् । जिफन्ट सम्बद्ध सदस्य युनियनहरूका धरानमा उपलब्ध केन्द्रीय नेताहरू र आठ वटा सदस्य युनियनहरूका स्थानीय कमिटीका सबै मूल समितिका सदस्य रहेका छन् । सन १८८९ मे १ देखि संसार भरीका श्रमिकहरूले मे दिवस मनाउँदै आइरहेका छन् । यस पटक धरानमा हुने मे दिवसमा धरानका विद्यालयहरूलाई, सामाजिक संघसंस्थाहरुलाई र सबै राजनीतिक दलहरू र जनसंगठनहरुलाई निमन्त्रणा गरिने तयारी रहेको मजदुर नेता भीमज्वाला राईले बताए ।
सबैले मे दिवस बारे सुन्दै आएको र विद्यालयहरूमा पढ्दै आइरहेको भए पनि यो दिवस किन मनाइन्छ र यसको सुरुवात कसरी भएको हो भन्ने विषय आम रूपमा जानकारी नभएकाले सबैलाई सहभागी गराएर मनाउन लागिएको राईले बताए । सबैको सहभागिताले संसार निर्माणमा श्रमिकहरूको भूमिका र योगदानको बारेमा समाजका सबै तहका जनसमुदायमा अवगत हुने र श्रमप्रतिको सम्मान बढेर जाने राईले बताए ।
Discussion about this post