विराटनगर । उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै मुलुकको अर्थतन्त्र उकास्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
राजस्व बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न भारतसँगको खुला सीमाका कारण हुने अवैध चोरीपैठारी एवं अवैध आयात नियन्त्रण गर्नुपर्ने माग उनीहरुको छ ।
अवैध आयात रोक्न सकेमा राजस्वसम्बन्धी समस्या केही हदसम्म समाधान हुने उनीहरुले बताए ।
विराटनगरमा बिहीबार उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहजीकरणमा अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले आयोजना गरेको प्रदेशस्तरीय पूर्वबजेट छलफल तथा अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् ।
सहभागीले नाजुक अवस्थामा पुगेको अर्थतन्त्रमा सुधार गर्ने गरीको बजेट ल्याए मुलुकलाई फाइदा पुग्ने बताए । मौद्रिक नीति र ब्याजदरको समस्याले औद्योगिक एवं व्यापारिक क्षेत्र धराशायी बनिरहेको गुनासो उनीहरुको छ ।
उद्योग संगठन मोरङको अध्यक्ष सुयेश प्याकुरेलले आर्थिक क्षेत्रमा देखिएको शिथिलता र निराशाप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए । प्रदेशमा औद्योगिक क्षेत्रलाई उकास्नसक्ने अधुरा भौतिक पूर्वाधारमा सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ ।
मोरङ व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले राष्ट्र बैंकको गलत नीतिले औद्योगिक एवं व्यापारिक क्षेत्र संकटमा परेको बताए । ‘
राष्ट्र बैंकको गलत नीतिले तरलता अभाव भइ औद्योगिक तथा व्यापारिक क्षेत्र संकटग्रस्त बन्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘सरकारको बारम्बार ध्यानआकर्षण गराउँदा पनि औद्योगिक क्षेत्रको समस्याको सुनुवाइ हुन सकेन ।’
नेपाल उद्योग परिसंघ कोसीका अध्यक्ष भीम घिमिरेले मुलुकलाई आत्मनिर्भर बनाउन कृषिको आधुनिकीकरण सरकारको प्राथमिकतामा पर्नुपर्ने सुझाव दिए ।
अर्थमन्त्री डा. महतले सरकारले आर्थिक क्षेत्रको समस्या सम्बोधन गरेरै बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिए । ‘मौद्रिक नीति खुकुलो पार्ने तयारी भइरहेको छ । यस विषयमा राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक रूपमा कुरा हुँदैछ’ उनले भने, ‘नीतिगत निर्णय गरेर राष्ट्र बैंकले मौद्रिक नितीलाई खुकुलो बनाउने अपेक्षा छ । ब्याजदरका कारण उत्पन्न समस्या पनि समाधान गर्नेतर्फ सरकार केन्द्रित छ ।’
ब्याजदरसँगै मौद्रिक नीतिका अन्य भागले समेत बजारमा पुँजी प्रवाह हुन नसकेको बताउँदै महतले सरकार नकारात्मक पाटोलाई सुधार गर्दै अर्थतन्त्रलाई सकारात्मक बनाउनेतर्फ प्रयत्नशील रहेको उल्लेख गरे ।
‘राजस्व वृद्धिका लागि उद्योग व्यवसाय सरकारको प्राथमिकतामा परेको छ,’ उनले भने, ‘कर धेरै उठाएर मात्रै राजस्व बढ्छभन्ने मानसिकताबाट बाहिरिन आवश्यक छ ।’
अर्थशास्त्री डा. पोषणराज पाण्डेले अर्थतन्त्रमा देखिएको निराशाको अवस्थाबाट आशा जगाउने प्रकारको बजेट ल्याउने तयारी हुनु सुखद् भएको बताए ।
Discussion about this post