इटहरी । सुनसरीका दुई पालिकामा कार्यारत कर्मचारीमाथि जनप्रतिनिधिले गरेको दुर्व्यबारप्रति कर्मचारी संगठनले आपत्ति जनाएका छन् ।
एकीकृत सरकारी कर्मचारी संगठन सुनसरी र नेपाल राष्ट्रिय कर्मचारी संगठन सुनसरीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
गत बैशाख ११ गते बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहतालाई पूर्व वडाअध्यक्षले हातपात गरेका थिए ।
यसैगरी गढी गाउँपालिकाका जिन्सी शाखा प्रमुख हरेराम शाहलाई १२ गते गाउँपालिका अध्यक्ष आशनारायात्र चौधरीले हातपात गरेका थिए ।
उनलाई प्रमुख चौधरीले पालिकाको बजेट शीर्षकमा नभएको एक थान सुजुकी कम्पनीको मोटरसाइकल र एक थान स्कुटर २०७९ चैत्त मसान्तमा सुमित अटो ट्रेडर्सको नामबाट पालिकामा नियमविपरीत खरिद गरेको विषयमा मिलाउन ठाडो आदेश दिएका थिए ।
बिना सम्झौता, बिना कोटेसन र खरिद आदेश समेत नभएकाले बिक्रेताका नामबाट पालिकामा आएको बिलको भुक्तानी रोकिएपछि चौधरीले जिन्सी शाखा प्रमुख हरेरामलाई दबाब दिएका थिए ।
कागजी प्रक्रिया मिलाउन दबाब दिए पनि खरिद सम्बन्धी जिन्सी शाखामा केही जानकारी नभएको र नियमविपरीत काम गर्न नसकिने बताएपछि शाहमाथि अभद्र व्यवहार भएको शाहले थियो । यसबारे शाहले नै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
यी दुई घटनाबारे कर्मचारी संगठनले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ “स्थायी सरकारको मानक मानिएको कर्मचारी प्रशासन र कर्मचारी माथिको नाङ्गो प्रहारले कानुन माथीको मजाक जस्ता हर्कतहरु लोकतन्त्र दिवसकै सेरोफेरोमा हुनु लोकतन्त्र माथिकै उपहासबाहेक अरु केही होइन ।”
यस्ता घटनाबाट कर्मचारीको मनोबल कमजोर हुने र कार्यालयको काममा समेत बाधा पुग्ने भन्दै स्वच्छ वातावरणमा काम गर्ने अवसर दिन समेत आग्रह गरेको छ ।
साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन घटनामा दोषी देखिएकामाथि कारबाही माग गर्दै सार्वजनिक गर्न समेत संगठनले माग गरेका छन् ।
Discussion about this post