काठमाडौं । अनेक बहाना र प्रलोभनमा नेपालीलाई अवैध रुपमा विदेश पुर्याएका धेरै घटना छन् । राम्रो जागिर लगाइदिने भन्दै अमेरिका, क्यानाडा र अस्ट्रेलिया लैजाने भन्दै ठूलो रकम ठगी हुने गरेको छ ।
विदेश लगेर त्यहाँको स्थायी बसोबास (पीआर) को व्यवस्था मिलाइदिने भनेर ठगिएका उदाहरण पनि अनेक छन् ।
यस्ता घटनामा विभिन्न ठाउँका ‘दलाल’ हरु सक्रिय हुने गरेका छन् । कतिपय घटनामा उनीहरु पक्राउ परेका पनि छन् । तर पछिल्लो पटक चर्चामा रहेको घटना भने अलि फरक खाले देखिएको छ ।
यो घटनामा नेपालीलाई भुटानी शरणार्थी हुन् भन्दै विदेश पठाउने काम भएको पाइएको छ । यसका लागि करोडौं रकम लेनदेन भएको सार्वजनिक भइरहेको छ ।
नेपालीलाई भुटानी भनेर विदेश पठाउने काममा सरकारका सचिवदेखि लिएर पूर्वमन्त्री र तिनका नातेदारहरुको संलग्नता खुल्दै आएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न देखिएको भन्दै प्रहरीले बुधबार नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो ।
हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत् उनी गृहसचिव रहेका बेला नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ असुलेको घटनामा संलग्न देखिएको प्रहरीको दाबी छ।
पाण्डे २०७८ साउन २७ देखि २०७९ असोज २ सम्म गृह मन्त्रालयको सचिव थिए ।
यसैगरी प्रहरीले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो।
२०७९ चैत दोस्रो साता नक्कली शरणार्थी बनाउने गिरोहका सदस्य भन्दै प्रहरीले केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टक गुरुङ र सन्देश शर्मा पोखरेललाई पक्राउ गरेको थियो ।
उनीहरुकै बयानका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले तत्कालीन गृहमन्त्रीका सल्लाहकार राई र उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले दिएको बयानकै आधारमा प्रहरीले थप व्यक्तिलाई पक्राउ गर्ने तयारी गरेको छ। बुधबार नै प्रहरीले पूर्वउर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएको छ।
रायमाझी अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन्। उनका छोरा सन्दीपलाई भने बुधबार साँझ वुटवलमा पक्राउ गरिएको छ ।
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पनि प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएको छ।
२०७६ जेठमा गृह मन्त्रालयले भुटानी शरणार्थीको समस्या समाधानका लागि भन्दै मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो ।
भूटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन भन्दै कार्यदलले विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्यो ।
कार्यदलमा विज्ञ सदस्यका रूपमा गणेशबहादुर केसी र सदस्य–सचिवका रूपमा शाखा अधिकृत दीपकप्रसाद न्यौपाने पनि सहभागी थिए ।
कार्यदलले तयार पारेर मन्त्रालयमा बुझाएको त्यो प्रतिवेदनमा गृह मन्त्रालयको तत्कालीन प्रशासनिक नेतृत्व र मन्त्रीको सचिवालयसँगको मिलेमतोमा मानव तस्करको एउटा गिरोहले नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ रकम उठाएको तथ्य खोज पत्रकारिता केन्द्रले उजागर गरेको थियो ।
२०७९ चैत १३ गते प्रकाशित पत्रकार देवेन्द्र भट्टराईले लेखेको केन्द्रको रिपोर्टमा प्रतिवेदनमा आफूखुशी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भूटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको भेटिएको उल्लेख छ ।
सरकारी संयन्त्रसँग निकट सम्पर्कमा रहेको गिरोहले प्रतिवेदनमा भुटानी शरणार्थीका रुपमा नाम समावेश गरेर नेपाली नागरिकबाट जनही १० लाख देखि ५० लाख रुपैयाँसम्म उठाएको थियो । रकम उठाइसकेपछि नक्कली शरणार्थी परिचय–पत्र वितरण पनि गरिएको थियो।
प्रहरीले यसअघि नक्कली शरणार्थीको परिचय–पत्र दिलाउन सक्रिय गिरोहका मुख्य नाइके भनिएका पथरी, मोरङ घर भएका केशव दुलाललगायतलाई पक्राउ गरेको थियो । उनीहरुको पक्राउपछि यो प्रकरणमा संलग्नहरु धेरै भएको र माथिल्लो तहसम्मका भएको खुल्दै आएको हो ।
Discussion about this post