धरान । किरात राई यायोक्खा सुनसरीले यसवर्षको उभौलीमा प्रदेशको पुनः नामकरणको माग गर्दै साकेला नाच आयोजना गर्ने भएको छ ।
वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने साकेला औँसीसम्म मनाइने गरिन्छ । उभौली मनाउने विषयमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले यसवर्ष प्रदेशको नामकरण पुनः गरिनुपर्ने मागसहित साकेला नाचिने जनाए ।
राईका अनुसार पहिचानका आधारमा प्रदेशको नाम किरात राखिनुपर्नेमा पहिचान विरोधीहरुले पहिचानको आन्दोलनलाई कुल्चँदै गैर पहिचानी नाम राखेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा ‘२०८० सालको साकेला उभौलीको सन्दर्भमा कोशी प्रदेश नाम खारेजीको माग गर्दै नेपालको प्राचिन सभ्यता एवं बहुपहिचानको आधारमा किरात प्रदेश हुनुपर्दछ भन्ने किरात राईहरूको मागलाई विशिष्ठ रूपमा उठाउने छ ।’
भोलि शुक्रबार राय बुद्धिकर्णको दरबार परिसर उधौलीको पूजाआजा गरेर धरान–१४ बाट साकेला नाच सुरु हुने तालिका समेत यायोक्खा सुनसरीले सार्वजनिक गरेको छ ।
सुनसरीका विभिन्न स्थानमा फरक फरक दिन साकेला नाच्ने तालिका बनाइएको छ । समापनको दिन धरान १७ स्थित साकेला पार्कमा प्रतियोगितात्मक साकेला नाच हुने छ ।
किरात राईहरूको सांस्कृतिक एकताको प्रतिकको रूपमा रहेको साकेला शिली नेपाल, भारत, हङकङ, बेलायत, जापान, मकाउ, सिंगापुर, अमेरिका, दक्षिण कोरिया, दुबई, साउदी, कतार, मलेशिया, अस्ट्रेलिया आदि देशहरूमा किरात राईहरूको बसोबास रहेका ठाउँहरूमा धूमधामसँग मनाइन्छ ।
Discussion about this post