भारतको केरलामा एक डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश बालबालिका तथा महिला रहेका छन् ।
आइतबार साँझ करिब ७ बजे मलप्पुरम जिल्लाको तनूर नजिक पर्यटक सवार डुंगा दुर्घटना भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त डुंगामा ३० देखि ४० को हाराहारीमा पर्यटक यात्रु सवार रहेको बताइएको छ। राति दुर्घटना भएकाले उद्धार तथा खोजीका लागि उद्धारकर्मी रातभर खटिएका थिए । अझै केही मानिस बेपत्ताको आशंकामा उद्धार कार्य बिहान पनि जारी छ ।
राज्यका एक मन्त्री अब्दुर्रहमानले दुर्घटनाको कारण अझै खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरी रहेको जानकारी दिएका छन् । यद्यपि, डुंगामा क्षमताभन्दा बढी यात्रु सवार रहेकाले डुबेको अनुमान रहेको अधिकारीहरुले बताएका छन् ।
यस घटनाप्रति राष्ट्रपति द्रौपती मुर्मू, उपराष्ट्रपति जगदीप धनखड, प्रधानमन्त्री नरेन्द्र मोदी तथा मुख्यमन्त्री पिनाराई विजयनले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई दुई लाख रुपैयाँको दरले राहत प्रदान गर्ने घोषणा गरेका छन् ।
मृख्यमन्त्री विजयन आज बिहान दुर्घटनास्थलको अवलोकनमा जाँदैछन् ।
Discussion about this post