काठमाडौँ । नेपाल विद्यार्थी संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत पक्राउ गरेपछि नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सघाउनु सबैको कर्तव्य भएको बताएका छन् ।
उनले सरकारले अघि बढाएको अनुसन्धान प्रक्रियाले आशाको सञ्चार गरेको समेत बताएका छन् ।
‘नेपाल विद्यार्थी संघ विधिको शासन र सुशासनको पक्षमा अनवरत लड्दै आएको सबै भन्दा पुरानो संगठन हो । दोषी नछुटून्, निर्दोष नफसून् भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो । यसप्रति हाम्रो बलियो विश्वास छ,’ उनले विज्ञप्तिमार्फत् भनेका छन्, ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेससहितको सरकारले अघि बढाएको अनुसन्धान प्रक्रियाले आशाको सञ्चार गरेको छ । अनुसन्धानमा सघाउनु सबैको कर्तव्य हो । कुनै पनि दबाब र प्रभावमा अनुसन्धान प्रभावित हुनु हुँदैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धान टुङ्गोमा पुग्नैपर्छ ।’
नेविसंघले सो प्रकरणमा संलग्न जो कोहीलाई पनि कसैले पनि ढाकछोप र चोख्याउने काम गर्न नदिन र अनुसन्धानलाई प्रभावमुक्त पार्न सरकारसँग आग्रह गरेको छ ।
Discussion about this post