बिश्वराज तामाङ
उदयपुर । उदयपुरको विकट पहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग छोटो मार्गबाकट जोड्ने महत्वपूर्ण मानिएको घुर्मी–कुमलटार–कुनाइघाट सडक खण्डको ८ किलोमिटरमा ट्रयाक खोल्ने काम सुरु भएको छ ।
कूल ३७ किलोमिटर सडकमध्ये ८ किलोमिटरमा ट्रयाक खन्ने काम सुरु भएको हो ।
ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्मा, उपाध्यक्ष धनम मगरलगायत स्थानीय जनप्रतिनिधि पहलमा उक्त सडक खण्डको ८ किलोमिटर सडकको लागि प्रदेश नम्बर १ सरकारबाट तीन करोड बजेट सुनिश्चिता भएको थियो ।
कोसी करिडोरको बाटो हुँदै घुर्मीबाट काठमाडौ सम्मको द्रुत मार्ग निर्माण गर्नका लागि प्रदेश नम्बर १ सरकार पूर्वाधार विकास कार्यालय उदयपुरले प्रदेश नम्बर १ सरकारको तीन करोड र पालिकाको ५० लाख गरी कुल तीन करोड ५० लाखमा खुलाइएको ठेक्का निर्माणको जिम्मा डिसि, दोभान, डि आर जेभीले एक करोड ७२ लाखमा प्राप्त गरेको थियो ।
कुनाईघाट कुमलटार घुर्मीको कुल ३७ किलोमिटर सडकमध्ये कुमलटारबाट १२ किलोमिटर सडक ट्रयाक यसअघि नै बनिसकेको छ ।
हाल उक्त सडक खण्ड अन्तर्गत सोरुङ राम्चेबेसी कन्यादह खण्डमा बैशाख १८ गतेबाट नयाँ ट्रयाक खोल्ने काम सुरु भएको निर्माण व्यवसायी हेम दाहालले बताए ।
कोसी करिडोरमा यातायात सञ्चालन गर्नका लागि अब कुमलटारबाट कुनाईघाटतर्फ र घुर्मी खण्ड तर्फको सडकमा ट्रयाक खोल्न बाकी छ ।
कुनाईघाट–कुमलटार–घुर्मी सडक ट्रयाक खुलेर सञ्चालनमा आए उदयपुरकै विकट मानिने ताप्ली गाउँपालिकाबाट ५ घण्टामा नै काठमाडौ पुगिने गाउँपालिका उपाध्यक्ष धनम मगरले बताए ।
उक्त सडक सञ्चालनमा आए ताप्ली गाउँपालिकासँगै छिमेकी पालिका लिम्चुङबुङका नागरिकहरुलाई पनि सहज हुने उपाध्यक्ष मगरले बताए ।
हाल काठमाडौसम्म यात्राको गर्नका लागि ताप्लीका नागरिकहरु कटारी, गाईघाट धाउनु पर्ने बाध्यता छ । उक्त सडक निर्माण भएर यातायात संञ्चालनमा आए स्थानीय नागरिकहरुको जीवनस्तरमा बृद्धि हुने साथै स्थानिय उत्पादनहरुले बाहिरी जिल्ला सम्मको बजार पाउने जनाइएको छ ।
Discussion about this post