विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकाबाट एक महिनाअघि एलईडी टेलिभिजन चोरी गर्ने समूहलाई प्रहरीले फेला पारेको छ ।
गोदाम फुटाएर २१ वटा टिभी चोरी गर्ने समूहका २ जना बुधबार राति पक्राउ परेका छन् ।
नवीन डिस्ट्रिब्यूटर्सको झ्याल फुटाएर टिभी चोरी गरेको घटनामा संलग्न बूढीगंगा–४ का २५ वर्षीय कोसन ऋषिदेव र १८ वर्षीय सन्दीपकुमार ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी (प्रहरी नायव उपरीक्षक) रन्जनकुमार दाहाल नेतृत्वको टोलीले बूढीगंगा–४ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले पक्राउ परेकाहरुले चोरी गरेकोमध्ये १५ थान टिभी बरामद गरिएको जानकारी दिए । ‘गोदाम फुटाएर एकै रात २१ वटा टिभी चोरी गरिएको थियो । त्योमध्ये १५ वटा बरामद गरिएको छ,’ पोखरेलले भने, ‘अन्य ६ थान टिभी फेला परेको छैन । चोरीमा संलग्नले कहाँ राखेका छन् भनेर खोजी गर्ने काम भइरहेको छ ।’
चोरीमा संलग्न १ जना फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।
प्रतिगोटा ४५ हजार रूपैयाँ पर्ने टिभी २०७९ चैत २८ गते राति चोरी गरिएको थियो । तिनको अनुमानित बजार मूल्य साढे ९ लाख बराबर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चोरीमा संलग्नले मोरङ र सुनसरीका विभिन्न ठाउँमा पु¥याएर सस्तो मूल्यमा टिभी बिक्री गरेको पत्ता लागेको छ ।
विभिन्न व्यक्तिलाई बिक्री गरेको टिभी प्रहरीले मोरङको बूढीगंगा र सुनसरीको दुहवीबाट बरामद गरेको हो ।
‘
एउटा टिभीलाई २० देखि २५ हजार रूपैयाँसम्ममा बेचेको खुलेको पोखरेलले बताए ।
Discussion about this post