काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट आइतबार साँझ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले रायमाझी पक्राउ परेको पुष्टि गरे ।
रायमाझीसँग प्रमुख बिचौलियाका रुपमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीको साठगाँठ रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
रायमाझीले भण्डारी र दुलालसँग आफ्नो सम्बन्ध रहेको यसअघि नै स्वीकार गरेका थिए । त्यस्तै उनका छोरा सन्दीपको नाममा काटिएको १ करोड ५० लाखको चेक पनि प्रहरीले बरामद गरेको छ ।
प्रहरीले सांसद रायमाझीविरुद्ध वैशाख २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । एक कार्यक्रममा सहभागी हुन सभामुख देवराज घिमिरेसँगै गृह जिल्ला अर्घाखाँची पुगेका सांसद रायमाझी वैशाख २० गते साँझ हवाइजहाजमार्फत काठमाडौं आउन लागेका थिए ।
पक्राउ पर्ने सम्भावना बढेपछि अन्तिम समयमा टिकट रद्द गरेर उनी फरार भएका थिए । सोही दिन रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरेको थियो ।
शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका रायमाझीलाई एमालेले पार्टी सचिवबाट निलम्बन गरिसकेको छ । यस प्रकरणलाई एमालेले ‘राज्यविरुद्धको अपराध’ भएको ठहर गरेको छ ।
Discussion about this post