विराटनगर । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन (प्याब्सन)का पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरीलाई संखुवासभामा सम्मान गरिएको छ ।
विभिन्न ३ वटा संस्थाले सम्मान गरेका हुन् । संखुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित कार्यक्रममा शनिबार पुरीलाई सम्मान गरिएको हो । पुरी संखुवासभामा जन्मिएका हुन् ।
उनलाई मकालु साहित्यिक समाज खाँदबारी, प्याब्सन संखुवासभा र खाँदबारीस्थित हिमालय माध्यमिक विद्यालयको २०४२ सालको एसएलसी ब्याचले संयुक्त सम्मान गरेको हुन् । संखुवासभाबाट एसएलसी पास गरेपछि अध्ययनका लागि विराटनगर आएका पुरीले प्याब्सनमार्फत राष्ट्रियस्तरको पहिचान बनाएको भन्दै सम्मान कार्यक्रममा उनको चर्चा गरिएको थियो ।
काठमाडौंभन्दा बाहिरबाट पहिलोपटक पुरी प्याब्सनको केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए । संखुवासभामा जन्मिएका व्यक्तिले राष्ट्रिय पहिचान बनाएका कारण योगदानको कदर गर्दै सम्मान गरिएको मकालु साहित्यिक समाजका अध्यक्ष एवं साहित्यकार ताराबहादुर बुढाथोकीले जानकारी दिए ।
सम्मानपछि कार्यक्रममा बोल्दै पुरीले कर्म गर्ने सिलसिलामा जन्मघरभन्दा बाहिर भएपनि संखुवासभाको माया सधैँ रहिरहने बताए ।
‘खाली खुट्टा’को परिचर्चा
टीकाराम पुरीद्वारा लिखित पुस्तक ‘खाली खुट्टा’को संखुवासभा सदरमुकाम खादबारीमा परिचर्चा गरिएको छ । मकालु साहित्यिक समाजले ‘खाली खुट्टा’को परिचर्चा गरेको हो । कार्यक्रममा परिचर्चाकारहरुले पुस्तक केही गर्ने सोच भएकाहरुका लागि प्रेरणाको स्रोत भएको बताए । पुरीले आफ्नो संघर्षमा आधारित पुस्तक ‘खाली खुट्टा’ गत वर्ष विमोचन गरेका थिए ।
प्राज्ञ तथा राष्ट्रियसभाका पूर्वसदस्य खेम नेपालीले पुरीले आफ्नो यथार्थ पुस्तकमा प्रस्तुत गरेको बताए । पुस्तकमा नेपाली भाषामाथि भइरहेको प्रहारदेखि समाजको अवस्थालाई चित्रण गरिएको उनले बताए । ‘खाली खुट्टा’मा समावेश भएका विषयले राजनीतिक संस्कार सिकाउनेदेखि समाज सुधारका लागि सन्देश दिएको उनले बताए । किताबमा लेखकले पाठकलाई न्याय गरेको नेपालीको भनाइ छ ।
साहित्यकार टीका आत्रेयले पुरीको पुस्तक पठनीय भएको बताइन् । जीवनको वास्तविकता उल्लेख गरिएको कृतिले केही गर्न चाहानेका लागि उर्जा थप्ने उनको भनाइ छ । आत्रेयले पुस्तकका विषय वस्तु र प्रस्तुति सरल रहेको उल्लेख गरिन् । विद्यालय शिक्षा सुरु गर्दा खाली खुट्टा हिँड्नुपर्ने र पहिलोपटक तराई झर्दा खाली खुट्टा हिँडेका विषयले शीर्षकलाई सम्वोधन गरेका कारण समग्र पुस्तकले नामलाई न्याय गरेको उनले बताइन् ।
पुस्तकमा टीकाराम पुरीको मात्रै नभइ आम नागरिकको कथा समेटिएको उनको भनाइ छ । ‘खाली खुट्टा’ले ५० वर्षको समाजलाई प्रस्तुत गरेको उनले बताइन् । निरन्तर बग्ने पानीले ढुंगा काट्ने बताउँदै उनले नियमित साधना गर्दा सफलता प्राप्त हुने सन्देश पुस्तकले दिएको आत्रेयको भनाइ छ ।
साहित्यकार खगेश्वर घिमिरेले पुस्तकले सबै पक्षलाई यथार्थ रूपमा प्रस्तुत गरेको बताए । पुस्तक दस्तावेजका रूपमा रहेको बताउँदै उनले ‘खाली खुट्टा’मा आम नागरिकको भोगाइ समेटिएको उल्लेख गरे । उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुका लागि पुस्तक उपयोगी रहेको उनको भनाइ छ ।
मकालु साहित्यिक समाजका अध्यक्ष एवं साहित्यकार बुढाथोकीले संखुवासभाबाट सुरु भएको संघर्षको कथाले पाठकलाई प्रेरणा मिल्ने बताए । पुरीको पुस्तकले निरन्तर मेहनत गर्दा गन्तव्यमा पुगिन्छ भन्ने सन्देश प्रवाह गरेको उनको भनाइ छ ।
लेखक पुरीले आफूले भोगेका र गरेका संघर्षको कथाले पाठकलाई न्याय गर्ने बताए । पुस्तकमा आफ्ना सबै विषय पारदर्शी रूपमा राखेको उनको भनाइ छ ।
Discussion about this post