झापा । सरकारले भद्रपुर भन्सार कार्यालयले अधिग्रहण गर्न लागेको जग्गाको क्षतिपूर्ति बापतको रकम ( मुआब्जा ) मध्ये पहिलो किस्ता ३३ महिना पछि बल्ल आएको छ ।
६० करोड १३ लाख ८२ हजार ४०३ रुपैयाँ वितरण गर्नुपर्ने मुआब्जा रकममध्ये सरकारले पहिलो चरणमा १० करोड रकम भन्सारको खातामा पठाएको भन्सार प्रमुख अमित तिवारीले जनाकारी दिए ।
जग्गा अधिग्रहण मूल्याङ्कन उपसमितिले स्थानीयको करिब ९ विगहा जग्गा अधिग्रहण गर्ने निर्णय गर्दै १०४ जनाको घर टहरासहितको जग्गा २०७७ साल साउन २७ गते सूचना प्रकाशन गर्दै भूमिसुधार तथा मालपोत कार्यालयमा रोक्का राखेको थिए । त्यसको पहिलो किस्ताको रकम ३३ महिना पछि आएको हो ।
‘सोमबार बेलुका मात्रै भन्सार कार्यालयको खातामा रकम निकासा भएर छ भन्सार प्रमुख तिवारीले भने अब प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सर्वपक्षीय बैठक बसेर रकम वितरण प्रक्रियालाई अघि बढाउँछौँ ।
भन्सार प्रमुख तिवारीले भने, ‘६० करोडमध्ये १० करोड मात्र रकम आएकोले डुबान क्षेत्रमा बसोबास गर्ने, घर टहरा भएका परिवारलाई पहिलो प्राथमिकतामा राखेर रकम वितरण गर्ने बताएका छन् । पुग्ने जति परिवारलाई १० करोड बाँडेपछि बाँकीलाई क्रमशः वितरण गर्दै लैजाने भन्सार कार्यालयको योजना छ उनले भने ।
अधिग्रहण गर्न लागेको स्थानीयको नम्बरी जग्गा मालपोतमा रोक्का राख्दा समेत भन्सारले समयमा क्षतिपूर्ति बापतको मुआब्जा रकम वितरण नगरेको भन्दै पीडितहरूले कयौँ पटक भन्सार कार्यालय घेराउदेखि धर्ना, तालाबन्दी गर्दै सडक समेत बन्द गरेर प्रदर्शन गरेका थिए ।
गत चैत २७ गते काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको समन्वयमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको नेतृत्वमा गएका मुआब्जा पीडितहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर मुआब्जा रकम छिटोभन्दा छिटो निकासा गरिदिनु प¥यो भन्दै ज्ञापनपत्र बुझाएर फर्केका थिए ।
Discussion about this post