इटहरी । अन्तर्राष्ट्रिय सेवा सुविधा दिइने इटहरी इटहरी स्थित हलगडामा रहेको सोल्टी वेस्टेन्ड होटेल बुधवार आजबाट सञ्चालनमा आउने भएको छ । हिजो मङ्गलवार पत्रकार सम्मेलन गरी होटेल सञ्चालनमा आउने जानकारी गराइएको हो ।
करिब २ अर्ब लगानीमा निर्माण गरिएको होटेलमा ८० वटा कोठा रहेका छन् । २०७२ साल देखि निर्माण सुरु गरिएको होटेललाई गरिमा होटेल नाम दिइएको थियो । तर १ वर्ष अघि सोल्टी होटेलसगँ सहकार्य भएपछि उक्त होटेललाई सोल्टी वेस्टेन्ड नाम दिइएको हो ।
होटेलका अध्यक्ष भीम बहादुर पौडेलले यो होटेलले इटहरीको व्यवसायिक र पर्यटकीय गतिविधि विकासमा भूमिका खेल्ने बताए । हामीले विशेष गरी बाहिरी देशबाट आउने विदेशी पाहुनालाई लक्षित गरेका छौं । अध्यक्ष पौडेलले भने “इटहरीमा धेरै म्यानपावर छन्, त्यहाँ कामदारको अन्तरवार्ता लिन विदेशी आउने गरेका छन् । तर उनीहरू बस्नकै लागि विराटनगर, विराटचौक पुग्नु पर्ने अवस्था छ । त्यसलाई मध्यनजर गरी ती पाहुनालाई इटहरी नै राख्ने छौँ ।”
गरिमा होटेलका उपाध्यक्ष सुदर्शन चापागाईँले होटेलले अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने जानकारी दिए । होटेलमा स्वीमिङपुल, साउना, स्पा, कार्यक्रम तथा सेमिनार हल, फिटनेस सेन्टरलगायतका सुविधा छ । होटेलले उद्घाटनको अवसरमा विशेष छुट सुविधा समेत दिएको छ । कोसी प्रदेशमा फाइभ स्टार मध्ये तेस्रो होटेल हो । यस अघि झापामा २ वटा सञ्चालनमा आइसकेका छन् ।
Discussion about this post