विराटनगर । बैंकमा रकम जम्मा गर्न गएका एक जना युवकमाथि विराटनगरमा बिहीबार दिउँसो चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय राहुलकुमार राय गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार विराटनगर–१० ट्राफिक चोकनजिक दिउँसो ३ः२० बजेतिर उनीमाथि चक्कु प्रहार भएको हो ।
रायलाई विराटनगर–१२ का २८ वर्षीय दीपेन्द्र कामतले चक्कु हानेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार भाग्दै गरेको अवस्थामा घटनामा संलग्न कामतलाई चक्कुसहित पक्राउ गरिएको छ ।
घाइतेको विराट नर्सिङ होममा उपचार भइरहेको छ । सुरुमा कोसी अस्पतालमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि नर्सिङ होम ल्याइएको हो ।
डीएसपी दाहालले रायमाथि चक्कु प्रहार हुनुको कारण खुल्न बाँकी रहेको जनाए । रायले भने आफूमाथि चक्कु हान्ने व्यक्तिलाई नचिनेको बताएका छन् । राय विराटनगरमै अदुवा र लसुनको होलसेल व्यापार गर्छन् ।
घटना भएका बेला आफू पैसा जम्मा गर्न बैंकमा पुगेको उनले बताए । पैसा जम्मा गरेर बैंकबाट निस्किने क्रममा चक्कु प्रहार भएको उनले प्रहरीलाई बताएका छन् ।
‘म बैंकमा पुग्दा त्यहाँभित्र उनी ९कामत० विवाद गर्दै रहेछन् । बैंकबाट बाहिर निस्किसकेपछि मसँग पनि विवाद गर्न थाले,’ उनले प्रहरीलाई भनेका छन्, ‘त्यत्तिकैमा ममाथि चक्कु प्रहार भयो । ती व्यक्तिको मसँग चिनजान थिएन ।’ उनका अनुसार अनुहारलाई ताकेर चक्कु प्रहार गरिएको थियो ।
जोगिनलाई छेक्ने क्रममा चक्कुले काटेर रायको देब्रे हातमा चोट लागेको छ । प्रहरीका अनुसार देब्रे हातको हतकेला, दुईवटा औँला र नाडीमा गहिरो चोट छ । अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
Discussion about this post