झापा । मेचीनगरमा रहेका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता माग्दै नगरपालिकामा धर्ना दिएका छन् ।
बस रिजर्भ गरेर नगरपालिका पुगेका उनीहरुले ‘सामाजिक सुरक्षा भत्ता खै ?’ ‘प्रशासकीय काम छिटो गर’ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पालिकामा धर्ना दिएका हुन् ।
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै मेचीनगर २ का ज्येष्ठ नागरिकहरु भत्ता माग्दै मेचीनगर नगरपालिकाको कार्यालयमा आएर धर्ना दिएका हुन् ।
अन्य सबैतिर भत्ता वितरण भइसक्दा पनि आफूहरुले सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै खवरदारीका लागि धर्ना दिएको उनीहरुको भनाइ छ ।
‘बारम्बार वडामा जानकारी गराउँदा पनि हाम्रो कुरा सुनुवाइ भएन’ मेचीनगर २ का लक्ष्मीप्रसाद पौडेलले भने – आखिर हामीलाई भत्ता चाहिँ किन नदिएको ? हामी बुढाबुढीलाई दुःख किन दिएको ?
सामाजिक सुरक्षा भत्ता जस्तो संवेदनशील कुरामा कुनैपनि नेतृत्व गम्भीर नबनेको उनको भनाई थियो ।
मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले ज्येष्ठ नागरिकहरुले बारम्बार वडामा आएर भत्ताका विषयमा कुरा गर्ने गरेको तर यो विषय वडाको मात्रै नभएकाले ज्येष्ठ नागरिकहरुलाई नगरपालिकामै उपस्थित गराएको बताए ।
टोली नै बनेर नगरपालिका पुगेका ज्येष्ठ नागरिकहरु नगर प्रमुख तथा उपप्रमुखले चित्तबुझ्दो जवाफ दिनुपर्ने भन्दै प्रमुख, उपप्रमुखको कार्यकक्षमा नै प्रवेश गर्न खोजेका थिए ।
कार्यकक्ष बाहिर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले ज्येष्ठ नागरिकहरुलाई सबैको तर्फबाट गल्ती भएको भन्दै अब छिट्टै भत्ता उपलब्ध गराउने आश्वासन दिएकी थिइन् ।
Discussion about this post