काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल जेठ १७ भारत भ्रमणमा जाने भएका छन् ।
उनको भ्रमण २० सम्म हुनेछ । प्रधानमन्त्री बनेको पाँच महिनापछि उनी भारत भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री दाहाल संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै भारत जाने तयारीमा जुटेका हुन् ।
परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर प्रधानमन्त्री दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । यसमा दुवै मुलुकले सहमति जनाएका हुन् ।
प्रधानमन्त्री दाहालको चार दिने भारत भ्रमणका लागि नेपाली पक्षले गृहकार्यलाई तीव्रता दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले भ्रमणको गृहकार्य भइरहेको जानकारी दिएएका छन् ।
जेठ १८ गते मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुने जनाइएको छ । द्विपक्षीय भेटवार्तापछि दुई मुलुकबीच सहकार्य, सहमति र सम्झौता हुने जानकारी दिइएको छ ।
प्रधानमन्त्रीका रुपमा दाहालको यो तेस्रो भारत भ्रमण हुनेछ । यसअघि दुई पटक उनले भारत भ्रमण गरिसकेका छन् ।
पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा उनले उत्तरी छिमेक चीनबाट पहिलो विदेश भ्रमण गरेका थिए ।
चीनबाट फर्केपछि उनी भारत भ्रमणमा गएका थिए । सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री बन्दा भने उनले पहिलो पटक भारतको भ्रमण गरेका थिए ।
Discussion about this post