सिन्धुली । अस्पतालका १४ जना डाक्टरहरूले सेवा बन्द गर्ने घोषणा गरेपछि सिन्धुली जिल्ला अस्पतालमा तनाव उत्पन्न भएको छ । अस्पतालमा भर्ना रहेका बिरामीहरूको समेत डिस्चार्ज गरी स्वास्थ्यकर्मीहरूले अस्पतालका सबै सेवा बन्द गराएका हुन् । बार बार अस्पतालमा उपचार सेवा बन्द हुँदा त्यस अस्पतालमा उपचारका लागि जाने बिरामीहरूको अवस्था थप जटिल बन्ने गरेको छ ।
यो त्यही अस्पताल हो जहा केही समय अघि गर्भवतीको मृत्यु भएको घटनालाई लिएर आफन्त र स्थानीयले तोडफोड गरेपछि उपचार ठप्प बनेको थियो । सिलामेकी २६ वर्षकी गङ्गा गुरुङ श्रेष्ठको अस्पतालमा सुत्केरी हुन नसकेपछि रिफर गरेकोमा बाटोमै जाँदा मृत्यु भएपछि मृतकका आफन्तले सिन्धुली अस्पतालमा तोडफोड गरेका थिए ।
सोही घटनाका कारण अस्पतालमा भौतिक क्षति समेत भएको थियो । पछि अस्पताल व्यवस्थापन, सरोकारवाला र पीडितप क्षबीच सहमति भएपछि अस्पतालको सेवा पुन सुचारु भएको थियो । तोडफोड भएका सामानहरू समेत मर्मत गरेपछि सेवा पुन सुचारु गरिएको थियो ।
उक्त घटनाकै कारण स्वास्थ्यकर्मीको दिमागी सन्तुलनमा समेत विभिन्न समस्या आएको र तत्काल बिरामीको उपचार गर्न सक्ने अवस्था भई नसकेका कारण मानसिकरुपमा समेत तयार नभएसम्म कुनै पनि सेवा प्रवाह गर्न नसक्ने भन्दै उनीहरूले सामूहिक रूपमा सेवा बन्द गरेका हुन् ।
स्वास्थ्यकर्मीहरूले यसै अवस्थामा कुनै प्रशासनिक दबाब आए सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् ।
Discussion about this post