मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.सुनील शर्माले सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन् ।
चुनावका बेला गरेको बाचा पूरा गर्दै डा.शर्माले आँफु निर्वाचित भएपछि व्यक्तिगत रूपमा विद्यार्थीहरूलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि ओच्छाइदिएका हुन् ।
शर्माले व्यक्तिगत रूपमा विद्यार्थी र विद्यालयलाई करीब तीन लाख मूल्य बराबरको सहयोग प्रदान गरेको विद्यालयका प्रद्यानाध्यापक दिलकुमार श्रेष्ठले बताए । कक्षा ५ सम्म अध्ययन हुँदै आएको सो विद्यालयमा एक सय ६९ जना विद्यार्थी अध्ययनरत छन् ।
त्यहाँ अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्ने श्रेष्ठले बताए । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूलाई डा.शर्माले एकसरो न्यानो कपडा, छ/छ थान कापी र १०/१० वटा कलम प्रदान गरेका हुन् ।
त्यस्तै, विद्यार्थीको पढाईमा सहजताका लागि बाल विकास केन्द्रको एउटा कोठा र कक्षा १ को दुई वटा कोठामा बाक्लो कार्पेट पनि बिच्छाइएको हो ।
कार्यक्रममा सांसद शर्माका वुबाआमा लोकनाथ र होमादेवी न्यौपानेले विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरे ।
चुनावको बाचा अनरुप विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको सांसद शर्माकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले बताइन् ।
Discussion about this post