अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । मेस्सीले विश्वकपमा ११ औं गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको सुचिमा आफूलाई माथि उभ्याएका हुन् ।
मेस्सीले क्रोएसियाविरुद्ध सेमिफाइनलमा गोल गर्दै ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडेका हुन् । उनले पछिल्लो खेलमा गोल गर्दै १० गोलको कीर्तिमान बराबरी गरेका थिए । अर्जेन्टिनाका लागि डिएगो म्याराडोना र गिलेर्मो स्ताबिलले ८-८ गोल गरेका छन् ।
मेस्सीले जारी कतार विश्वकपमा नै ५ गोल गरिसकेका छन् । उनी कतार विश्वकपको सर्वाधिक गोलकर्ता सुचिमा किलीयन एमबाप्पेसँग समान ५ गोलमा छन् ।
यता लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी समेत भएका छन् । मेस्सी फिफा विश्वकप कतार २०२२ अन्तर्गत मंगलबार भएको सेमिफाइनल खेल खेल्दै लोथर मथाउसको कीर्तिमान बराबरी गरेका छन् । क्रोएसियाविरुद्धको खेल विश्वकपमा उनको २५ औं खेल हो । विश्वकप इतिहासमा हालसम्म जर्मनीका मथाउसले सर्वाधिक २५ खेल खेलेको कीर्तिमान बनाएका थिए। मेस्सीले सेमिफाइनल खेल्दै उनको रेकर्डसँग बराबरी गरेका हुन् । मेस्सीको फाइनल खेल बाकी नै रहेको छ । फाइनल खेल खेलेसँगै मेस्सी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने एक्लो खेलाडी बन्ने छन् ।
मेस्सीपछि हाल अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका क्रिस्टियानो रोनाल्डो २२ खेलसहित सुचिमा छन् । सन्न्यास लिइसकेका खेलाडीमा भने जर्मनीका मिरोस्लाभ क्लोजले २४ र इटालीका पाओलो माल्डिनीले २३ खेल खेलेका छन् । जर्मनीकै थोमस मुलर र म्यानुएल नोएरले पनि १९-१९ खेल खेलेका छन् ।
यस्तै फ्रान्सका ह्युगो लोरिसले १८ खेल खेलेका छन् । उनले यस विश्वकपमा थप दुई खेल खेल्न सक्नेछन् । क्रोएसियाका लुका मोड्रीचले १८ खेल खेलेका छन् । अर्जेन्टिनाका एन्जल डी मारिया र फ्रान्सका एन्टोइन ग्रिजमनले १७ -१७खेल खेलेका छन् ।
Discussion about this post