विराटनगर । विराटनगर महानगरपालिकाले विपदबाट हुने क्षति न्यूनीकरण र पूर्वतयारीका लागि युवाहरुलाई समेटेर प्रतिकार्य टोली गठन गरेको छ ।
विपदको क्षति न्यूनीकरण र पूर्वतयारीका विषयमा महानगरले तीन दिनसम्म तालिम दिएर प्रतिकार्य टोली गठन गरेको हो । उत्थानशील परामर्श सेवाको प्राविधिक सहयोगमा सञ्चालित तालिममा १९ वटै वडाबाट एकजना पुरुष र एकजना महिला सहभागी भएका थिए ।
तालिममा सहभागी वडा नम्बर १९ का युवा सुमन बञ्चराको संयोजकत्वमा १९ सदस्यीय प्रतिकार्य टोली गठन भएको हो । टोलीको सहसंयोजकमा रविना सुवेदी, सचिवमा दर्शन साह र कोषाध्यक्षमा कुशला काफ्ले छन् ।
टोलीले हरेक वडामा पुगेर स्थानीयलाई विपदको क्षति न्यूनीकरणका उपाय र पूर्वतयारीलगायतका विषयमा जानकारी गराउनेछ । त्यस्तै वडास्तरमा समेत विपद युवा प्रतिकार्य टोली गठन गर्ने महानगरको तयारी छ ।
सो अवसरमा भूकम्प, आगलागी, चट्याङ, डुबान, बाढी, हावाहुरीलगायतका विपदबाट हुने क्षति न्यूनीकरणका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको मेयर नागेश कोइरालाले बताए ।
३८ जना सहभागी भएको तालिममा विपद व्यवस्थापनका विज्ञ रामकुमार दाहाल, यसप्रसाद सुब्बा, उत्थानशील परामर्श सेवाका प्रमुख सूर्यकुमार दाहालले सहजीकरण गरेका थिए ।
Discussion about this post