टीका खतिवडा
इलाम । गत वर्ष वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनपछि फेरिएको जनप्रतिनिधिको टिमले कार्यकालको एक वर्ष बिताइसकेको छ ।
अन्यत्र जस्तै इलाम नगरपालिकाका जनप्रतिनिधिहरुले पनि यो अवधिमा केही काम गरेका छन् । जनताले अनुभूति गर्नेगरी पर्याप्त काम भने हुन नसकेको गुनासो छ ।
इलाम नगरपालिका इलाम सदरमुकाममा छ । सदरमुकाम भएकै कारण नगरपालिका जिल्लावासीकै केन्द्रका रुपमा छ । यहाँ रहेका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको काममा समेत जिल्लावासी आउजाउ गरिरहन्छन् ।
इलाम नगरपालिकामा खानेपानीको समस्या सधैँ चर्चामा हुन्छ । यसबारे कतिपय विवाद पनि आउने गरेका छन् ।
कतै पानी नै नआउने, कतै प्रयोग गरेको भन्दा धेरै गुणा महशुल आउने गरेको गुनासो व्याप्त छ । नगरपालिकाले सबै नगरबासीलाई खानेपानी सहज रुपमा पुर्याउन योजना बनाएर पहल भइरहेको बताएको छ ।
यो अवधिमा सुकिलुम्बा विमानस्थलमा बन्द रहेको हवाइ सेवा सञ्चालनमा आएको छ । नगरका जनप्रतिनिधिले पहल गरेपछि हाल हप्ताको एक दिन उडान हुने गरेको छ । पहिला व्यावसायिक कम्पनीले महंगो भाडा दरमा यात्रु ओसारपसार गर्ने गरेका थिए । पछि त्यसमा केही कमी ल्याइएको छ ।
बीचमा हवाई सेवा बन्द थियो । जनप्रतिनिधिको पहलपछि नेपाल एयरलाइन्सको जहाजले पहिलाभन्दा कम शुल्कमा उडान गर्न सुरु गरेको छ ।
चौपायाको उपचारमा जनप्रतिनिधिको पारिश्रमिक
इलाम नगरमात्र होइन जिल्लैभरि पशु चौपायामा लम्की स्कीन नामक रोगले गाँजेको छ । किसानका गाईवस्तु बिरामी हुने र मर्न थालेका छन् ।
समस्या चर्कँदै गएपछि नगरका जनप्रतिनिधिले उदाहारणीय काम गरेका छन् । उपमेयर विष्णु दहालको नेतृत्वमा बसेको बैठकले यहाँका पशु चौपाया बचाउन जनप्रतिनिधिहरुले एक महिनाको पारिश्रमिक खोपका लागि खर्च गर्ने निर्णय गरेका छन् । यो निर्णयले नगरवासी उत्साहित छन् ।
यसैगरी दीर्घरोगी र असहायलाई उपचारमा सहयोग गर्न राहत कोषको व्यवस्था गरिएको छ । युवाहरुलाई खेलकुद विकासमा नगरकप हुने गरेको छ । किसानहरुलाई कृषि औजार वितरण गर्ने गरिएको छ ।
योजना बनाएर आएका विकासक्रमलाई प्राथमिकता दिइने गरिएको जनप्रतिनिधिको भनाइ छ । सिंचाइका लागि आवश्यक कामलाई अगाडि बढाइएको छ ।
सिंचाइ सुविधा पुर्याउन नगरले आवश्यक काम गरिरहेको बताइएको छ । यसअघि नै बालबालिकाका लागि पार्क, व्यापारीका लागि सिटी मार्ट, तरकारी व्यापारीका लागि व्यवस्थित टहरा, पशुहाट निर्माण गरिएको छ ।
केही कामहरु सुरु भए पनि पर्याप्त भने देखिएको छैन । नयाँ जनप्रतिनिधि आएको पहिलो वर्ष खासै ठोस उपलब्धिमूलक र देखिने कामहरु नभएको नगरवासीको भनाई छ ।
खानेपानीलाई व्यवस्थित गर्न, गाउँबाट आएका किसानबाट लिइने शुल्क मिनाहा गर्न नगरवासीको माग छ । वडामा हुने सामान्य कार्यक्रममा ब्यस्त रहने मेयरले योजना बनाएर समृद्ध नगर बनाउन पहल गर्नुपर्ने स्थानीयको माग छ ।
नगरलाई समृद्ध बनाउन सम्बन्धित मन्त्रालयबाट बजेट माग गरेर अघि बढ्न सकियो भने मात्र नगरलाई समद्ध बनाउन सकिन्छ ।
नियमित आउने बजेटको मात्र पर्खाइमा रहँदा नगर समृद्ध बन्न सक्दैन । विस्तृत आयोजना प्रतिवेदनका लागि (डीपीआर) सर्भे गरेर सम्बन्धित मन्त्रालय तथा निकायमा आवश्यक बजेट माग गरेर काम अघि बढाउन आवश्यक छ । इलाम अस्पताललाई ब्यवस्थित गर्दै सेवा बढाउनसमेत पहल गर्नु अत्यावश्यक देखिएको छ ।
इलाम पर्यटकीय दृष्टिले समृद्ध जिल्ला हो । मुलुककै सबैभन्दा पुरानो चिया बगान अनि पहिलो चिया कारखाना र अन्य धार्मिक एवं पर्यटकीय स्थलहरु रहेको इलाम नगरपालिकाका विभिन्न क्षेत्रहरुमा समेत पर्यटकहरुको उल्लेख्य उपस्थिति रहने गरेको छ । तर नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचार र अन्य काममा ठोस कदम चाल्न सकेको छैन ।
यहाँ रहेका होटल तथा रेस्टुरेन्टहरुमा मौलिक र नयाँ स्वाद पाइँदैन । बाहिरबाट दक्ष जनशक्ति ल्याएर काम सिकाएर यो क्षेत्रमा पर्यटकलाई सहज सुविधा दिन सकिने सम्भावना छ ।
यहाँ उत्पादन हुने चिया बाहिर गएर विभिन्न स्वादमा पिउन पाइन्छ । तर इलाम बजारमा भने गुणस्तरीय चियाको स्वाद पाउन मुस्किल पर्छ । यसका लागि पनि नगरपालिकाले निजी ब्यापारीहरुसँग समन्वय गरेर आगन्तुकलाई मौलिक स्वाद चखाउने वातावरण मिलाउनुपर्ने माग उठ्ने गरेको छ ।
विभिन्न कम्पनी तथा ब्यवसायीसँग समन्वय गरेर यहाँ विभिन्न क्षेत्रका पर्यटक आकर्षित गर्न ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।
पहिल्यै निर्माण र स्थापना भएका कृषि क्याम्पस र आँखा अस्पताललाई व्यवस्थित बनाउनुपर्ने देखिएको छ ।
नगरलाई शिक्षाको ‘हब’ बनाउन सकिन्छ । यहाँ रहेको आदर्श माध्यमिक विद्यालयलाई व्यवस्थित गर्दै परिस्कृत शिक्षा दिन जरुरी छ । अन्य पालिकाका सरकारी विद्यालयमा कक्षा नर्सरीदेखि पढाई हुन्छ । अंगे्रजी माध्यमबाट अध्यापन हुन्छ । व्यावसायिक शिक्षालाई जोड दिने गरी ठोस काम गर्न आवश्यक देखिन्छ ।
नगरको भवन ब्यवस्थित छ । वडाका भवनहरु समेत काम गर्न सकिने खालकै छन् । तर कामको गति अलिक कमी भएको हो कि भन्ने जनताले गुनासो गर्ने गरेका छन् ।
चर्को समस्या खानेपानीको
‘मनमा तिर्खा बढेको छ
शहरको धारामा
पानी खस्न छोडेको छ
म यतिखेर
मिनरल भनिने
कहिले, कहाँ भरेको
अस्वस्थकर बोतलको पानी पिइरहेछु……..
र आफ्नै उमेर घटाइरहेछु ।’
यी हरफहरु इलाम नगरपालिका ७ का वडासदस्य तथा कवि विमल बैद्यको फेसबुक वालबाट लिइएको हो । करिब निर्माण कार्य सम्पन्न भइसकेको भनिएको साना सहरीखानेपानी आयोजना मार्फत धारामा पानी नआएपछि बैद्यले कविता सामाजिक सञ्जालमा पोस्ट गरे । जनप्रतिनीधिले अरुको गुनासा सम्वोधन गर्ने हो तर आफैँ पीडित भएको उनको पोष्टबाट बुझ्न सकिन्छ ।
इलाम बजारमा खानेपानी वितरणको जिम्मा इलाम नगरपालिकाले नै लिएको छ । नगरपालिकाका अन्य कामप्रति जनताको खासै चित्त दुखाई नदेखिए पनि खानेपानी वितरणमा गुनासो बढी देखिन्छ । नगरपालिकामा प्रष्ट बहुमत पाएको नेपाली काँग्रेस पार्टीकै धेरै नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत खानेपानी आपूर्तिमा भएको अनियमितता र निर्माण कार्यबारे तिक्तता पोखेका छन् ।
साविक नगरपालिका क्षेत्रको लागि खानेपानी आपुर्ति इलाम नगर पालिकाले जिम्मेवारी लिएको छ । यतिमात्र होइन नगर प्रमुख केदार थापा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रहेकै बेला नगर प्रमुखमा निर्वाचित भएका हुन् । उनी हालसम्म समितिको अध्यक्ष छन् ।
स्थानीय सरकारले आफैं जनताबाट खानेपानी महसुल उठाउनु, निर्माण सकिँदै महसुल उठाउन नगरपालिका अग्रसर हुनु, खानेपानी महसुल सुटुक्कै बढाएर उठाउनु र आयोजना निर्माणका क्रममा देखिएका केही त्रुटीका कारण सदरमुकामका जनता समेत नगरको आलोचना गर्न बाध्य भए । तर यो विषय नगरले साविककै महसुल दर कायम गरेपछि अलिअलि ओझेलमा परेको छ ।
नगरले खानेपानी आपूर्ति क्रमशः सहज बनाउदै लगेको छ । तर आयोजना निर्माण सम्पन्न भएर पनि परीक्षण भइरहेको नगरको दाबी छ । ठेकेदारले धारा जडान सकेपछि थप धारा जडान गर्न नगरपालिकाले पहल नगरेको स्थानीयको अझै गुनासो छ ।
Discussion about this post