काठमाडौँ । कोलम्बियामा भएको विमान दुर्घटनाको ५ हप्ता पछि ४ जना बालबालिका सकुशल भेटिएका छन् ।
समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार कोलम्बियाको दक्षिणी भेगमा भएको उक्त विमान दुर्घटनाको झन्डै ४० दिनपछि ती बालबालिकाहरू सकुशल भेटिएका हुन् ।
एक महिनाभन्दा बढी समयदेखि कोलम्बियाको अमेजन जंगलमा बेपत्ता भएका चार आदिवासी बालबालिका जीवितै भेटिएको र उनीहरूलाई शनिबार बिहान राजधानी बोगोटा लगिएको फ्रान्स२४ ले उल्लेख गरेको छ । उनीहरूलाई त्यस जंगलबाट सेनाको टोलीले शुक्रबार उद्धार गरेको कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् ।
रोयटर्सका अनुसार दुर्घटनाको समयमा विमानमा ती चार दाजुबहिनी, आमा र एक/एक जना पाइलट र को-पाइलट थिए । विमानका पाइलटद्वय र बालबालिकाको आमाले भने विमान दुर्घटनामा ज्यान गुमाएका थिए । ती बालबालिकाको उमेर १३, ९, ४ र एक वर्ष रहेको छ ।
राष्ट्रपति पेट्रोले उनीहरूको उद्धारको घोषणा गरेपछि बालबालिकालाई सकुशल भेट्नु पूरै मुलुकका लागि खुसीको क्षण भएको प्रतिक्रिया दिए । ‘उनीहरू कमजोर देखिन्छन् । अब डाक्टरहरूले उनीहरूलाई हेर्नेछन् । सैनिकको टोलीले उनीहरूलाई एकै ठाउँमा भेट्टायो । म निकै खुसी छु,’ राष्ट्रपति पेट्रोले भने ।
ती बालबालिकाका हजुरबुवाले पनि उनीहरूको उद्धारको समाचार थाहा पाएपछि आफू निकै खुसी भएको रोयटर्सलाई बताएका छन् ।
गत मे १ मा सिंगल इन्जिनको सेसना-२०६ विमान अमाजोनस प्रान्तको अरारकुआराबाट ग्वावियारे प्रान्तको सान होजे डेल ग्वावियारे जाँदै गर्दा इन्जिन फेल भएर दुर्घटनाग्रस्त भएको थियो ।
Discussion about this post