काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् ।
दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेशविपरीत चौंधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै उनले आक्रोश व्यक्त गरे।
‘सुशासन, पारदर्शीता, जवाफदेहिता र उत्तरदायित्व यी कुराहरु कुनै पनि लोकतन्त्रलाई सुदृढ गर्न बनेको हुन्छ । हामी कहाँ दण्डहिनता पनि कताकता बढ्दै गएकोमा मलाई चिन्ता लागिरहेको छ,’ उनले भने, ‘अहिले भर्खरै हेनुस् । तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मशी सुक्न नपाउँदै माफी दिनुभयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ? यी कुराहरु अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा । सरकार टिकाउनका लागि यी कुराहरु गर्दाखरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ ।’
शनिबार कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए ।
निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठने गरी सरकारले निर्णय गरेकाले आफूहरुले विरोध गर्नु परेको उनको तर्क थियो । नेता कोइरालाले लोकतन्त्रलाई मजबुत पार्नका लागि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने पटक-पटक दोहोर्याए ।
‘अहिले निर्वाचन आयोगलाई हामीहरुले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनु पर्छ भनेर भनिराखेका छौं । र, हुन पनि पर्छ, उनले भने, ‘निर्वाचन आयोगलाई सिडियोको मातहतमा लगेर एउटा कोठामा लगेर राख्ने । त्यसले लोकतन्त्र मजबुत हुन सक्दैन । लोकतन्त्र मजदुत हुनका लागि निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ भन्ने कुरा पनि तपाईंहरु माझमा राख्न चाहन्छु ।’
नेता कोइरालाले कांग्रेस कमजोर भएको हिन भावना लिएर नबस्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अतितबाट सिक्ने सके कांग्रेस कमजोर हुने कुनै कारण नरहेको उनको भनाइ थियो ।
Discussion about this post