काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै सभापति देउवाले समानुपतिकमा चयन भएकालाई राष्ट्रियसभामा पठाउने व्यवस्थाका लागि राजनीतिक सहमति गरी संसद्को दुईतिहाइ मतबाट संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
अर्को एक प्रसंगमा देउवाले चुनावमा गठबन्धन गरेको कारण कांग्रेस पार्टी ठूलो भएको दाबी पनि गरे ।
कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले मिश्रित निर्वाचन प्रणालीले कांग्रेसलाई कमजोर बनाएको बताए । उनले निर्वाचन प्रणालीमै सुधार गरेर जानुको विकल्प नभएको बताए ।
सरकारले जिल्ला निर्वाचन कार्यालयलाई प्रमुख जिल्ला अधिकारी मातहत राख्न खोजेको प्रति उनले आपत्ति जनाए । पूर्वसांसद रेशम चौधरीलाई माफी दिइएकोतर्फ संकेत गर्दै नेता कोइरालाले सर्वोच्च अदालतले गरेको फैसलाको मसी सुक्न नपाउँदै राष्ट्रपतिबाट आममाफी दिलाइँदा लोकतन्त्र कमजोर हुने दाबी गरे ।
नेता कोइरालाले पार्टीभित्र गुट–उपगुट झाँगिँदै गए कांग्रेस नै समाप्त हुने चेतावनी दिए ।
Discussion about this post