विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कोलोमोसो दलेर दुर्व्यवहार गरिएको घटनामा संलग्न नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरेललाई सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले बुधबार बिहान मोरङको बूढीगंगा क्षेत्रबाट पक्राउ गरेको हो । अनुसन्धानका लागि उनलाई सुनसरी लगिएको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले कालोमोसो दलेको घटनाको नेतृत्वकर्ता पोखरेललाई पक्राउ गरिएको जानकारी दिए ।
‘
दाहालमाथि कालोमोसो दलेको घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले बताए ।
विश्वविद्यालय सेवा आयोगको कार्यालयले घटनामा संलग्नविरुद्ध मंगलबार सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो ।
पोखरेलसहित ३ जनाको नाममा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा १०–१५ जना संलग्न रहेको जाहेरीमा उल्लेख छ । सबैको पहिचान भइसकेको र खोजी तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ ।
सेवा आयोगका अध्यक्ष दाहालमाथि गत सोमबार बिहान ९ः३० बजेतिर कालोमोसो छ्यापिएको थियो । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको नाम लिँदै पुगेको समूहले इटहरी उपमहानगरपालिका–२ स्थित निवासबाट बाहिर बोलाएर दाहालको अनुहारमा मोसो खन्याइदिएको हो ।
सेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने माग राख्दै आयोगको कार्यालयमा गत पुसमा नेविसंघको नाममा ताला लगाइएको थियो । कांग्रेसकै अगुवाईमा केही दिनअघि ताला खोलिएको थियो । दाहालमाथि मोसो दल्ने समूह भने आफूहरुलाई जानकारी नदिइकन र वार्तामा नबोलाइकन ताला खोलिएको भन्दै असन्तुष्ट थियो ।
आयोगले विद्यार्थी संगठनका नाममा राखिएको माग पूरा गर्ने अधिकार आफूसँग नभएको जनाएको छ ।
सेवा आयोगका अध्यक्ष दाहाल कार्यालयमा नभेटिएपछि निवासमा पुगेर मोसो दलिएको दाबी नेविसंघले गर्दै आएको थियो । तर, नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी नेविसंघले नलिने स्पष्ट पारिसकेका छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै उनले कालोमोसो दलिएको घटनालाई अमानवीय भनेका छन् । उनले गलत हर्कतमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालय र विश्वविद्यालय प्रशासनसँग माग गरेका छन् ।
Discussion about this post