इटहरी । नेपाल जेसीजको आयोजना तथा तरहरा जेसीजको आतिथ्यतामा इटहरीमा ‘मास्टर टट’ कार्यक्रम सुरु भएको छ ।
शुक्रबार इटहरीको सोल्टी वेस्टेण्ड होटलमा जेसीजको मास्टर टट कार्यक्रमको उद्घाटन गरिएको छ । इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले उद्घाटन गर्दै जेसीजमा सकारात्मक युवाहरूको संख्या रहेकाले आफू जेसीजका कार्यक्रममा सहभागी हुने बताए ।
‘शारीरिक, मानसिक, चेतनशील र वैचारिक हिसाबमा अब्बल युवाहरूको संख्या जेसीजमा छ,’ पौडेलले भने, ‘जेसीजले भोलिको दिनमा नेतृत्व लिन सक्ने क्षमता उत्पादन गर्ने विश्वास लिएको छु, मलाई यो पुस्ताप्रति भरोसा छ ।’ उनले जेसीजमा आवद्व युवाहरूले सामाजिक सञ्जालमा हेरेर धारणा निर्माण नगर्ने र आँफूले अहिले नीतिगत काम गरिरहेको बताए ।
उनले एक फरक प्रसङ्गमा भने, ‘म श्रम संस्कृति भनेर बाहिरि निस्किरहेको छैन । नीति र कानुनी काम गरिरहेको छु ।’
कार्यक्रम निर्देशक तथा तरहरा जेसीजका पूर्व अध्यक्ष मणिराम श्रेष्ठले तरहरा शाखाले यसअघि नेपाल जेसीजको ‘एरिया ए’ पनि सम्पन्न गरिसकेकाले मास्टर टट कार्यक्रमको आयोजना गर्न पाउनु खुशीको कुरा रहेको बताए ।
‘तालिम लिएर तालिम दिन सक्ने बनाउनका निम्ति यो कार्यक्रमको आयोजना गर्न पाउनु शाखाका लागि खुशीको कुरा हो,’ श्रेष्ठले भने, ‘नेपाल जेसीज स्थापना भएपछि हालसम्म एकपटक मात्रै मास्टर टट कार्यक्रमको आयोजना भइरहँदा हामीले यसपटक आयोजना गर्न पाएका छौँ ।’
नेपाल जेसीजका अध्यक्ष विकास मानन्धरले आँफूले समावेश गरेको कार्य योजनाअनुसार मास्टर टट कार्यक्रम तरहरा शाखाले आतिथ्य गरेकोमा धन्यवाद व्यक्त गरे । ‘यहाँबाट जन्मिएका प्रशिक्षकहरूले पूर्ण रुपमा ग्राजुएसन भइसकेपछि तालिम दिन दक्ष बन्नुहुनेछ,’ उनले भने, ‘तालिमको कोर्ष पूरा भएपछि हामी राष्ट्रिय महाधिवेशनमा ग्राजुएट गर्नेछौँ ।’
कार्यक्रममा मुख्य प्रशिक्षक योगेश चन्डक, नेपाल जेसीज वर्ष २०१९ का अध्यक्ष महेश पौडेल, तरहरा जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष गुरुदेव पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै आतिथ्य शाखा तरहराका अध्यक्ष बहादुर तामाङले आँफूहरूले नेपाल जेसीजको कार्यक्रमको आतिथ्य गर्न पाउनु गौरवको कुरा रहेको बताए ।
उनका अनुसार देशभरबाट आएका ४४ जना सहभागीहरूलाई तालिम प्रदान गरिनेछ । तालिमको मुख्य प्रशिक्षकका रूपमा योगेश चन्डक र प्रशिक्षकका रूपमा जेसी डा. सन्देशदास श्रेष्ठ छन् ।
Discussion about this post