काठमाडौं । निर्धारित र अतिरिक्त समयमा गोल रहित बराबरी भएपनि साविक च्याम्पियन भारतले साफ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ।
शनिबार भएको खेलमा आमन्त्रित टोली लेबनानलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै भारतले सनसनिपूर्ण रुपमा नवौं पटक आफूलाई साफ च्याम्पियन नजिक पुर्याएको हो। अब उपाधिका लागि भारतले मंगलबार कुवेतको सामना गर्ने छ।
निर्धारित र अतिरिक्त समयमा भारत र लेबनानबिच प्रतिपर्धात्मक बराबरी भएको थियो। दुबै टिमले गोलका केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो।
अतिरिक्त समयमा पनि दुबै टिमले गोलका केही अवसरमा गोल गर्न चुक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो।
पेनाल्टी सुटआउटमा भारतले ४-२ को नतिजा निकाल्यो। लेबनानले पेनाल्टी सुटआउट अघि गोलरक्षक परिवर्तन गरेपनि उसको रणनिति फलदायि हुन सकेन।
लेबनानका लागि कप्तान हसन मटुक र खलिल मेहदी गोल गर्न चुकेका थिए। कप्तान हसनको प्रहार भारतीय गोलरक्षक गुरप्रित सिंहले रोक्दा मेहदीको प्रहार भने आकाशिएको थियो। तर भारतका सबै ४ खेलाडीले गोलमा परिणत गर्दै नवौं पटक भारतलाई उपाधि नजिक पुर्याए। भारतले यसअघि ८ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ।
Discussion about this post