काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज आर्थिक विधेयकमाथि छलफल हुने भएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले आजको बैठकमा ‘आर्थिक विधेयक २०८०’ माथि छलफल हुने सम्भावित कार्यसूची रहेको जानकारी दिए ।
यसका लागि प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा उक्त विधेयकमाथि परेका संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
छलफलपछि आजै उक्त विधेयक पारित गर्ने तयारी छ । यसका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ ।
यसैगरी बैठकमा राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफलका लागि सदनमा प्रस्ताव प्रस्तुत गरिने छ । विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भनी अर्थमन्त्री महतले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
यसपछि उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री महतले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बजेट कार्यान्वयनका लागि यी दुई विधेयक संसदबाट पारित हुन बाँकी छ । यसअघि विनियोजन विधेयक पारित भइसकेको छ ।
Discussion about this post