भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले विगतका त्रुटि सच्याएर तत्कालीन नेकपातिरै फर्किनु पर्ने जनाएका छन् ।
भक्तपुरमा आइतबार आयोजित नारायणविलास जोशीको ३४ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा विभाजनको समीक्षा गरेर एकताबद्ध हुनु पर्ने जनाएका हुन् ।
विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहास, विश्वभरकै समाजवादी आन्दोलनको इतिहास, एकता, संघर्ष, विभाजन, फेरि रुपान्तरण, फेरि एकता, फेरि संघर्ष यस्तैमा गुज्रिँदै अघि बढेको र नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अघि बढेको उनको भनाइ थियो ।
‘आज हामीले फेरि एक पटक विचार गर्नुपरेको छ । सबैले चिन्तन गर्नुपर्छ । हिजो के कारण एकीकृत भएको कम्युनिस्ट आन्दोलन बच्न सकेन,’ उनले भने, ‘त्यहाँ विचारमा कहाँ त्रुटि थियो ?, राजनीतिमा कहाँ त्रुटि थियो ?, आचरण र संस्कृति, भावनामा कहाँ त्रुटि भयो ? के प्रकृतिका कारण हाम्रो विभाजन भयो ? भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अघि जाने हामीले जमर्को गर्नुपर्छ ।’
माओवादी अध्यक्षसमेत रहेका दाहालले समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका नेत्रविक्रम चन्दलाई आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र पार्टीलाई एकताबद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताए । उनले त्यसका लागि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु गरिसकेको जनाए ।
‘म लगायत माधव नेपाल, विप्लव र उपेन्द्र यादवसमेतले फेरि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौँ,’ दाहालले भने, ‘माधव जी र मैले के पनि भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेकुरा भनेका छौँ ।’
दाहालले कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर आफूले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिस्टहरुलाई एकताबद्ध गरेको उल्लेख गरे । उनले सबै कम्युनिस्टहरुले आफ्ना त्रुटिलाई सच्याएर अघि बढ्नुपर्ने जनाए।
Discussion about this post